काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले संकटा क्लबसँग रोमान्चक बराबरी खेलको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङले संकटासँग २-२ गोलको बराबरी खेलेको हो । संकटाका लागि निरज बस्नेत र उत्तम राईले एक एक गोल गरे ।
कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङका लागि दयानन्द सिंह र फ्रान्कलिन क्वेटाले एक एक गोल गरे । ३० औं मिनेटमा निरजले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाए ।
लक्ष्मण रुचालको फ्रिकिक पासमा निरजले हेडरमार्फत गोल गरे । तर, खेलको ३५ औं मिनेटमा दयानन्दले गोल गर्दै मनाङलाई १(१ गोलको बराबरीमा फर्काए । खेलको ७० औं मिनेटमा उत्तमले गोल गर्दै संकटालाई २-१ को अग्रता दिलाए ।
दोस्रो हाफमा मैदान प्रवेश गरेका उत्तमले फोडे फोफानाको पासमा सिक्स यार्ड बक्सबाट गोल गरे । खेलको इन्जुरी समयमा फ्रान्कलिनले गोल गर्दै मनाङलाई २-२ गोलको बराबरीमा ल्याएर हारबाट जोगाएका हुन् ।
बराबरीसँगै मनाङले ३ खेलमा ७ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत रहेको छ । संकटा भने ५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया