Logo

Breaking News 1

धेरै लामो समयसम्म फुटबल खेलिरहन्छु कि रहन्नँ भन्नेमा शंका छ : मेसी


२८ श्रावण २०८३, बिहिबार  

0
Shares

काठमाडौं । बुबाको निधनपछि अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले आफ्नो फुटबल करिअरलाई लिएर पहिलोपटक सामाजिक सञ्जाल मार्फत अब धेरै लामो समय फुटबल खेल्ने वा नखेल्ने विषयमा शंका रहेको बताएका छन् ।

बुबाको निधनले आफूलाई गहिरो रूपमा प्रभावित पारेको भन्दै मेसीले अब धेरै लामो समयसम्म फुटबल खेलिरहनेमा आफू नै निश्चित नरहेको बताएका हुन् । बुबा जर्ज मेसीको निधनपछि फेसबुकमा भावुक सन्देश लेख्दै मेसीले आफूले जीवनभर फुटबल खेल्दै आएको तर अहिले भविष्यलाई लिएर धेरै शंका उत्पन्न भएको बताएका हुन् ।

‘मैले अहिलेसम्म फुटबल मात्र खेलेँ र अब धेरै लामो समयसम्म खेलिरहन्छु कि रहन्नँ भन्नेमा धेरै शंका छन्,’ मेसीले लेखेका छन् ।मेसीका लागि उनका बुबा जर्ज केवल अभिभावक मात्र थिएनन् । उनी बाल्यकालदेखि नै मेसीको फुटबल यात्राका महत्वपूर्ण साथी, मार्गदर्शक र प्रतिनिधि थिए । प्रशिक्षणदेखि प्रतियोगितासम्म बुबाले दिएको साथलाई मेसीले आफ्नो जीवनको महत्वपूर्ण हिस्सा भएको बताएका छन् ।

बुबाको निधनपछि आफूले अब कसरी अघि बढ्ने भन्ने नै थाहा नभएको मेसीले बताएका छन् । उनले बुबासँग दैनिकजसो कुराकानी हुने र आफ्नो व्यावसायिक व्यस्तताबीच सम्भव भएसम्म भेटघाट हुने गरेको स्मरण गरेका छन् ।

मेसीले आफ्ना बुबाले आफूलाई विश्वकप खेल्न सधैं प्रेरित गर्ने गरेको समेत बताएका छन् । विश्वकप सुरु हुनुभन्दा केही दिनअघि बुबाको स्वास्थ्य अवस्था बिग्रिएपछि आफूले उनलाई फाइनलसम्म पुगेर खेल प्रत्यक्ष देखाउने आश्वासन दिएको उनले स्मरण गरेका छन् ।

बुबाले आफूलाई खेलिरहेको हेर्न निकै मन पराउने गरेको बताउँदै मेसीले बाल्यकालमा कामबाट घर फर्किएपछि प्रशिक्षणमा लैजाने गरेको र आफ्नो खेल नछुटाउने गरेको उल्लेख गरेका छन् ।

मेसीले बुबालाई आफ्नो ‘बुबा, साथी र प्रतिनिधि’का रूपमा सम्झिएका छन् । बुबाले दिएको शिक्षा र संस्कार आफ्ना छोराछोरीलाई पनि दिने उनले बताएका छन् । बुबाको निधनपछि फुटबल करिअरलाई लिएर मेसीले व्यक्त गरेको यो अन्योलले उनको आगामी खेल यात्राबारे नयाँ बहस सुरु भएको छ । यद्यपि उनले तत्काल फुटबलबाट सन्यास लिने घोषणा भने गरेका छैनन् ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  ९ : २२ बजे