काठमाडौं । केन्यामा सरकारविरुद्ध प्रर्दशन भएको छ । आर्थिक संकट भोगिरहेका केन्याका नागरिकले सरकारले कर बढाउने नयाँ आर्थिक विधेय ल्याउँदा संसद् भवनमा आक्रमण र सरकारविरुद्ध प्रर्दशन गरेका छन् । सो क्रममा प्रहरीको गोली लागि पाँचजना प्रदर्शनकारीको मृत्यु भएकाे छ भने ५० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् ।
मंगलबार हजारौं प्रदर्शनकारीले करवृद्धिसम्बन्धी विधेयक पारित गरिरहँदा बलपूर्वक संसद भवन भित्र प्रवेश गर्न खोजेका थिए । प्रदर्शनकारीलाई रोक्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्दा पनि पछाडि नहटेपछि प्रहरीले गोली प्रहार गरेको रोयटर्सले जनाएको छ ।
वित्त विधेयक विरुद्ध संसद् भवन बाहिर प्रर्दशन गर्ने क्रममा संसद् भवनको केही भागमा प्रर्दशनकारीले आगोसमेत लगाएका थिए । संसद भवनमा आक्रमण भएपछि प्रहरीले गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सले उल्लेख गरेको छ ।
यस्तै, सांसदहरूलाई जमिनमुनिको सुरुङ मार्ग प्रयोग गरी सुरक्षित बाहिर निकालिएको थियो । देशले चरम आर्थिक संकटको सामना गरिरहेका बेला करवृद्धिसम्बन्धी कानून ल्याएको भन्दै सर्वसाधारणले विरोध गरेका हुन् । विरोधका बीच सो विधेयक सदनबाट भने पारित भएको छ ।
प्रतिक्रिया