Logo

Breaking News 1

सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठकमा सहभागी हुन चीनका उपविदेशमन्त्री वेइडोङ आज नेपाल आउने



काठमाडौं । चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपालको तीनदिने औपचारिक भ्रमणमा आउँदै छन् । भोलिबाट (मंगलबार) काठमाडौंमा हुने नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुन वेइडोङ नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकको लागि चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ र नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले नेतृत्व गर्दैछन् । बैठकमा दुई देशबीचको आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा दुई देशबीच भएका द्विपक्षीय सम्झौताबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालले व्यापार, लगानी र पर्यटन प्रवर्द्धन, कनेक्टिभिटी विस्तार, कृषि, शिक्षा, चिनिया सहयोग लगायतको विषयलाई समेटेर एजेन्डा तय गरेको जनाइएको छ । बैठकमा नेपालमा चिनियाँ लगानीका परियोजनाहरूलाई सिघ्र सम्पन्न गर्नेबारे समेत छलफल हुने परराष्ट्रले जनाएको हो ।

यसैबीच तीन दिने नेपाल भ्रमण सकेर १२ गते स्वदेश फकिनु अघि उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता समेत गर्ने छन् । संयन्त्रको १५औँ बैठक गत वर्ष बेइजिङमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ८ : ४५ बजे