काठमाडौं । सहिद स्मारक ‘ए डिभिजन’ लिगका १६ रेफ्रीले सामूहिक राजीनामा दिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ् शेर्पाले दुर्व्यवहार गरेको भन्दै रेफ्रीहरुले सामूहिक राजीनामा दिएका हुन् । रेफ्रीहरुले फिटनेस टेस्ट केही पर सार्न अध्यक्ष शेर्पालाई आग्रह गर्न शेर्पाको कार्यालयमा पुगेका बेला शेर्पाले रेफ्रीहरुमाथि दुव्र्यबहार गरेका हुन् ।
शेर्पाले अपशब्द बोल्दै गाली गरेको रेफ्रीहरुले आरोप लगाएका छन् । एन्फाले असोज ७ मा फिटनेस टेस्ट लिएर रेफ्रीहरूलाई सन् २०२२ का लागि अन्तर्राष्ट्रिय फिफामा नाम पठाएको थियो । उनीहरूले नै मंसिर ३ मा सुरु भएको ‘ए’ डिभिजन लिगका खेलहरू खेलाइरहेका छन् ।
फेरि पुस ८ गते फिटनेस टेस्ट दिनुपर्ने सूचना पाएपछि रेफ्रीहरूले एन्फा अध्यक्ष शेर्पासमक्ष टेस्ट केही पर सार्न अनुरोध गरेका थिए । तर, शेर्पाले रेफ्रीहरुको कुरै नसुनी ‘तिमीहरू राजनीति गर्न आयो, जुलुस आयो भन्दै गाली’ गरेको रेफ्रीहरुले बताएका छन् ।
फिटनेस टेस्टका लागि केही समय तयारी गर्नुपर्ने भएकाले आफूहरु समय माग्न शेर्पासम्म पुगेको उनीहरुले बताएका छन् । विनातयारी फिटनेस टेस्ट दिदा इन्ज्युर्ड हुने सम्भावना अत्यधिक हुने उनीहरुको भनाई रहेको छ ।
सुरुमा रवीन्द्र महर्जन, प्रकाशनाथ श्रेष्ठ, प्रज्वल क्षत्री तथा सबै (६ जना) फिफा सहायक रेफ्रीहरू नानीराम थापामगर, माधव खत्री, युनाल मल्ल, सहदेव श्रेष्ठ, विक्रम चोधरी र किसन यादवले संयुक्त राजीनामा दिएका थिए ।
१४ जनामध्ये ९ राष्ट्रिय रेफ्री शुक्र तामाङ, प्रकाश भुजेल, श्याम दनुवार, प्रजेश अमात्य, हरिश कार्की, मधुकर आचार्य, ज्ञान तामाङ, सविन ढकाल र उमेश बिडारीले पनि ‘फिफा रेफ्री तथा सहायक रेफ्रीहरूले दिएको राजीनामाप्रति समर्थन गर्दै जारी लिगमा सहभागी नहुने’ उल्लेख गर्दै संयुक्त राजीनामा गरेका हुन् ।
प्रतिक्रिया