Logo

राजनीति

मोदीको शपथमा विपक्षी गठबन्धनका नेता नआउने, निम्तो नआएको कंग्रेसको दाबी



काठमाडौं । आज साँझ ७ः१५ मा भारतको नयाँ दिल्लीको राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो प्रधानमन्त्रीत्वको शपथ हुँदैछ ।

शपथग्रहणमा बोलाइएको आठ हजार निम्तालुमा विपक्षी गठबन्धनका नेताहरू नआउने बताइएको छ । भारतीय मिडिया बिजनेस स्टान्डर्डका अनुसार विपक्षी गठबन्धनको प्रमुख घटक कंग्रेस नेताले निम्तो नआएको बताएका छन् ।

कंग्रेसका महामन्त्री जयराज रमेशका अनुसार विपक्षी इन्डिया गठबन्धनलाई निम्तो गरिएको छैन । उनले मोदी सहभागी गठबन्धन एनडिए नेसनल डेमोक्रेटिक अलायन्स नभएर नरेन्द्र डिस्ट्रक्टिभ अलायन्स भएको समेत टिप्पणी गरेका छन् ।

मोदीको आज शपथप्रहण हुँदै गर्दा विपक्षी नेताहरूले उनी विरुद्ध चर्का भाषण गरिरहेका छन् । पश्चिम बंगालका ४२ सिटमा २९ सिट जितेर सबैभन्दा धेरै सिट ल्याएकी त्रिणमुल कंग्रेसकी नेतृ ममता बेनर्जीले मोदीको नयाँ सरकार अलोकतान्त्रिक र गैरकानूनी भएको टिप्पणी गरेकी छिन् ।

पश्चिम बंगालबाट प्रकाशन हुने अखबार दी स्टेट्सम्यानका अनुसार ममताले कालिघाट आवाश क्षेत्रमा भएको कार्यक्रममा शनिवार आफ्ना सांसदहरुलाई भेला गरेर यस्तो बताएकी हुन् ।

उनले भनेकी छिन्, ‘अन्ततः इन्डिया गठबन्धनले केन्द्र सरकार बनाउँछ ।’ बीजेपीले चुनाव हारेको भन्दै मोदीले सत्ता छोडेर अरूलाई स्थान दिनुपर्ने पनि ममताले कार्यक्रममा बताएकी थिइन् ।

आज शपथ लिने मोदीले यही हप्ता जी ७ को बैठकमा सहभागी हुन इटाली यात्रा गर्ने भारतीय अखबार हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  १२ : ३२ बजे