Logo

कोशी

कोशी प्रदेश विवादको छिनोफानो सर्वोच्चको पूर्ण इजलासबाट हुँदै



काठमाडौं । कोशी प्रदेश सरकार गठनको विवाद आइतबार(आज)को पूर्ण इजलासले हेर्दैछ । विवादको छिनोफानो तीन न्यायाधीशको इजलासबाट हुने निश्चित भएको छ ।

कोशी प्रदेशमाथि परेको रिटमाथि सर्वोच्चका न्यायाधीशत्रय प्रकाशकुमार ढुंगाना, अव्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको पूर्ण इजलासमा पेशी परेको छ ।

यसअघि गत २३ गते न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले पूर्ण इजालासमा सुनुवाइका लागि पठाउन आदेश दिएको थियो ।

वैशाख २६ गते प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आव्हान गरेपछि केदार कार्की सर्वोच्च अदालत गएका थिए । उनको मुद्दामा जेठ ९ गते मुख्यमन्त्रीको रूपमा हिक्मत कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्ति गर्ने निणर्यको सक्कल फाइल झिकाउन आदेश गरेको थियो ।

मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको नियुक्तिमा प्रश्न उठाउँदै पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा यसअघि जेठ १६ गते पनि सुनुवाइ भएको थिएन ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले उक्त व्यवस्था सरकार बनाउने अन्तिम विकल्प भएको र आफूले यसअघि नै विश्वासको मत लिइसकेको कारण अब हटाउन नपाइने जिकिर गरेका छन । एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ११ : २४ बजे