Logo

मनोरञ्जन

‘सत्या’का मनोज भन्छन् : सुटिङ रोकियो, निर्माता भागे


१८ जेष्ठ २०८१, शुक्रबार  

115
Shares

मुम्बई । बलिउडका दिग्गज अभिनेता मनोज बाजपेयीको नाम लिँदा जोकोहीले उनको फिल्म ‘सत्या’ सम्झन्छन् । सन् १९९८ मा रिलिज यो फिल्मले मनोजलाई बलिउडमा अलग पहिचान दिएको थियो । हालै उनले एक अन्तरवार्तामा सन् १९९७ मा संगीतकार, भजन गायक र व्यापारी गुलशन कुमारको हत्या पछि ‘सत्या’को सुटिङमा लागेको रोक र निर्माता भागेको प्रसंगलाई खुलाएका छन् ।

मनोजका अनुसार गुलशनको हत्या पछि फिल्मका वास्तविक निर्माता निकै डराएका थिए । ‘यस्तो अवस्थामा उनले लगानीबाट हात झिके । यो प्रोजेक्ट बीचमै अड्कियो । तर निर्देशक राम गोपाल बर्मा हार मान्न तया थिएनन् । यस्तो अवस्थमा उनले एक हप्तामा अर्को निर्माता खोजे’, मनोजले भनेका छन् ।

मनोजले मुम्बई सिफ्ट भएपछि आफूले कसरी मुस्किलको सामना गर्नुपर्यो भन्ने कुराको पनि खुलासा गरेका छन् । ‘फिल्म सत्याबाट मैले डेढ लाख रुपैंयाँ पाएका थियो । यो मेरो लागि राम्रो रकम थियो । किनकी ठूलो अवसर पनि थियो । तर जब भाग्यले बाटो लिँदै थियो, त्यही बेला गुलशन कुमारको गोली हानी हत्या भयो । यसको पछाडि अन्डरवल्र्डको हात रहेको चर्चा थियो’, उनले भने ।

उनले आफूले ‘सत्या’मा अवसर पाउँदा त्यो कुरा कसैलाई नभनेको बताएका छन् । ‘जब मैले ‘सत्या’ पाएँ, तब मैले कसैलाई बताइन् । मैले कोठामा सँगै बस्ने साथीलाई पनि भनिनँ । गुलशनको हत्या हामीले सुटिङ सुरु गरेको ६ दिन पछि भएको थियो । त्यसपछि फिल्मको सुटिङ रोकियो, किनकी निर्माता निकै डराएका थिए । गुलशनको हत्या फिल्म उद्योगका लागि ठूलो घटना थियो । हामी पनि मुम्बईको माफियामा आधारित रहेर फिल्म बनाइरहेका थियौं । यहीकारण निर्माता डराएका थिए र उनले फिल्म बन्द गरिदिए । हाम्रो करियर सुरु हुन लाग्दा अचानक रोकिएको थियो’, मनोजले सम्झिएका छन् ।

मनोजका अनुसार एक साता पछि निर्देशक राम गोपाल बर्माले भरत शाहलाई भेटेका थिए । जसको लगानीमा ‘सत्या’को काम अगाडि बढ्यो । ‘मैले राम गोपाल बर्माले फिल्मको काम रोक्ने निर्णय नलिउञ्जेल काम नछोड्ने निर्णय लिएँ । रामले कहिल्यै हार मानेनन् । आठ दिन पछि फिल्मको काम पुनः सुरु भयो’, उनले भनेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  २ : ०२ बजे