Logo

मुख्य समाचार

‘काठमाडौंका मेयरलाई आदर्श बनाएर समाज अघि बढ्दैन’



काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले वर्तमान समाजको आदर्श काठमाडौंको मेयरलाई बनाएर समाज अगाडि नबढ्ने बताएका छन् ।

काठमाडौंमा सोमबार आयोजित अन्तरक्रियामा उनले आफ्नो माग राख्नका लागि सफा राख्नुपर्ने सहर आफैं फोहोर गर्दै हिँडेको भन्दै समाज यस्तोको हातमा दिएर सुशासन र समृद्धिको कुरा सम्भव नभएको बताए ।

उनले भने, ‘हाम्रो समाजको आइकन हामी कसलाई बनाउन खोज्दैछौ भनेर भन्दा काठमाडौंको मेयरलाई, जसले आफ्नो माग राख्नको लागि काठमाडौंका कार्यालयमा लगेर धुलो फ्याँक्छ । हाम्रो आदर्श अब समाज कसरी निर्माण गर्ने भन्दा आफूले सफा राख्नु पर्ने सहरहरु आफंै फोहोर गर्दै हिँड्ने । सिंहदरबारको फोहोर उठ्दैन्, कहिले मन्त्री क्वाटरमा लगेर फोहोर राख्न र हाम्रो आदर्श पनि त्यही बन्दैछ । समाज यस्तोको हातमा जाने, अनि हामीले सुशासन र समृद्धिको कुरा गरेर हामीले समाजलाई नेतृत्व गर्न सक्छौ ?’

यस्तै, उनले पछिल्लो समय सामाजिक सञ्जालले निर्माण गरेको मुखहरु सुशासन, विकास र सपनाको अवसान गर्ने एउटा बाटो मात्र भएको बताए ।

उनले नेपाली समाजको आजको समस्या हल गर्न राज्यलाई बलियो बनाउनुपर्ने भन्दै बलियो राज्यले मात्र जनताको जीवन समृद्धि बनाउने सक्ने बताए ।

उनले भने, ‘हामीले जनता र राज्यलाई जोड्नु पर्छ । राज्य बलियो भयो भने मात्र जनता सुरक्षित र संरक्षित हुन्छन् र जनताको जीवनमा समृद्धि सम्भव हुन्छ । कमजोर राज्यले जनतालाई कहिले पनि सुख, समृद्धि दिन सक्दैन । त्यसकारण नेपाली समाजको आजको समस्या हल गर्ने हो भने राज्यलाई बलियो बनाउनु पर्छ, त्यसपछि मात्र नागरिकहरु सुरक्षित हुन्छन् । हामीले यसको आधारमा सोच्नु पर्छ ।’

वर्तमान अवस्थामा शक्ति र ज्ञानभन्दा धनको उपासनामा बढी ध्यान गएको भन्दै समाज परिवर्तन गर्ने हो भने यस्तो चिन्तनको धारणालाई परिवर्तन गर्नुपर्ने भनाइ पनि उनले राखे ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ७ : ४२ बजे