Logo

समाचार

सर्वसम्मतीका लागि आफू पक्षीयमा नै सहमति जुटाउन सकेनन् ओलीले



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेताहरुसँग गरेको छलफलमा सहमति जुटाउन सकेनन् ।

चितवनमा जारी महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि छलफलमा जुटेका ओली सर्वसम्मतीका लागि सम्भावन नदेखेपछि रिसाउँदै बैठक स्थलबाट बाहिरिएर बन्द सत्र स्थलमा पुगेका छन् ।

उपाध्यक्षमा ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङले दाबी दोहोर्‍याएका छन् । त्यस्तै, महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले अडान लिएका छन् ।

महासचिवमा सुरेन्द्र पाण्डेले पनि दाबी गरेका छन् । उनीहरू पछि नहट्दा सहमति हुन नसकेको हो । नेताहरुको अन्तरिक छलफलका कारण बिहानै सुरु हुनुपर्ने बन्द सत्र सुरु हुन सकेको छैन ।

अध्यक्ष ओली बन्द सत्र स्थलमा पुगेकाले अबको केहि बेरमा बन्द सत्र सुरु हुने बताइएको छ । यता, अध्यक्षका अर्का दाबेदार भीम रावल पनि आफू पक्षीय नेताहरुसँग छलफलमा बसेका छन् ।

अध्यक्षमा उठ्ने निष्कर्षमा पुगेका रावल थप छलफलका लागि भन्दै आफू निकट नेताहरुसँग छलफलमा बसेका हुन् ।

अध्यक्ष ओलीले रावललाई उम्मेदवारी दिनबाट रोकेर सर्वसम्मत रुपमा फेरि आफू अध्यक्ष बन्ने प्रयास गरेपनि रावल पछाडि नहट्ने पक्षमा देखिएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ५ : ०७ बजे