Logo

Breaking News 1

कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको रणनीतिबारे छलफल गर्न केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएका हुन् । बैठक बुधबार दिउँसो ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद् अवरुद्ध पार्दै आएको कांग्रेसले सत्ता पक्षले छानबिन समिति गठन गर्न समेत नमानेपछि अब त्यो विषयलाई जनस्तरसम्म पु¥याउने निर्णय गरेको हो ।

आज बस्ने संयुक्त बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन समिति गठनको विषयले निम्तिएका राजनीतिक घटनाक्रमको समीक्षा गर्ने सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

‘हामीले देशको गृहमन्त्रीमाथि नै ठगीको आरोप लाग्यो, त्यसको छानबिन गरौँ भनेका हौँ । तर आरोपित व्यक्ति उल्टै सौदाबाजी र पूर्वाग्रहमा उत्रिएको देखिएको छ,’ सहमहामन्त्री परियारले भने, ‘उहाँले संसद्बाट कांग्रेस नेताहरुलाई लगाएका आरोप उहाँले पुष्टि नगरे उहाँ पनि कारबाहीको भागेदार हुनुपर्छ ।’ नेताहरूले कांग्रेसले यो विषयलाई जनस्तरसम्म पु¥याउने र सडक प्रदर्शनका कार्यक्रम गर्ने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ७ : ०५ बजे