Logo

अर्थ

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ



कर्णाली । रुख कटानको प्रक्रिया अघि नबढ्दा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम प्रभावित भएको छ । आयोजना निर्माणका लागि बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रका रुख कटान नहुँदा टावर निर्माणको कार्य प्रभावित भएको हो ।

आयोजनाले बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रअन्तर्गतका १३ हजार ११९ रुख कटान गर्न प्रस्ताव गरेको छ । आयोजना प्रमुख रविकुमार चौधरीले रुख कटानसम्बन्धी प्रस्ताव स्वीकृतिमा भएको ढिलाइले निर्माण प्रभावित हुने बताए । ‘आयोजना र नेपाल विद्युत् प्राधिकरणबाट सबै तयारी पूरा भइसकेको छ, मन्त्रिपरिषद्मा रुख कटानसम्बन्धी प्रस्ताव लैजाने काम वन तथा वातावरण मन्त्रालयको हो,’ उनले भने । निकुञ्ज क्षेत्रका रुख कटान गर्नुपर्ने भएकाले वन मन्त्रालयलाई समय लागेको हुनसक्ने उनको भनाइ थियो ।  

आयोजना र भारतीय ठेकेदार कम्पनी आरएस इन्फ्राप्रोजेक्टबीच भएको सम्झौताअनुसार २०७९ भदौसम्म निर्माण पूरा गर्नुपर्नेछ । हालसम्म रुख कटान सुरु भएको छैन । रुख कटान नहुँदा टावर निर्माणको काम प्रभावित भएको छ । विसं २०७७ असारमा ठेक्का सम्झौता भए पनि कम्पनीले यही भदौ तेस्रो सातादेखि निर्माणको काम थालेको हो ।

रुख कटानको अनुमति पाउन ढिलाइ हुँदा आयोजनाले जहाँ जङ्गल क्षेत्र छैन त्यस्ता ठाउँमा मात्र टावर निर्माणको काम गरिरहेको छ । हालसम्म १३ स्थानमा टावरको जग निर्माण गरिसकेको छ । झण्डै ५२ किमी दूरी रहेको सो प्रसारण लाइनमा डबल सर्किटका १६१ टावर निर्माण गर्नुपर्नेछ । मन्त्रिपरिषद् बैठकबाट रुख कटानको स्वीकृति पाएलगत्तै आयोजनाले रुख कटानका लागि बोलपत्र आह्वान, जग्गाको मुआब्जालगायत प्रक्रिया सुरु गर्नेछ । 

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ५ : २० बजे