Logo

Breaking News 1

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने भएका छन् । सोमबार बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने कार्यसूची छ ।

कोशी प्रदेश सभामा ९३ सांसदमध्ये बहुमत पु¥याउन ४७ सांसद आवश्यक पर्छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै दलका सांसदले उनलाई विश्वासको मत दिने देखिएको छ भने जसपा नेपालकी सांसद निर्मला लिम्बूले पनि विश्वासको मत दिने बताएकी छन् ।

कांग्रेसले भने प्रदेशसभाको बैठक बहिष्कार गर्ने जनाएको छ । त्यसबारे छलफल गर्न बिहान ८ बजे कांंग्रेस प्रदेशसभा संसदीय दलको बैठक बस्दैछ ।

आइतबार कार्यसूची तयार गर्न बसेको बैठकमा कांग्रेसले कोशी सरकारबारे अदालतमा मुद्दा विचाराधिन रहेकाले मुख्यमन्त्रीले तत्काल विश्वासको मत लिन नहुने निश्कर्ष निकालेको थियो । अर्को दल राप्रपाले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने या नदिने भन्ने विषयमा निर्णय गरिसकेको छैन । कार्की वैशाख २७ गते तेश्रो पटक मुख्यमन्त्री बनेका हुन् ।

मुख्यमन्त्री नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै तत्कालीन मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सो रिटमा अदालतले निर्णय दिइसकेको छैन ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ७ : ४३ बजे