Logo

मुख्य समाचार

विवादमा तानिएका राष्ट्रपतिका आर्थिक विज्ञद्वारा राजीनामा



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा.चिरञ्जिवी नेपालले राजीनामा दिएका छन् । १०० को नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयको विषयमा अभिव्यक्ति दिँदा विवादमा तानिएका उनले राजीनामा दिएका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले डा नेपालले दिएको राजीनामा स्वीकृत गरेको जानकारी दिइन् ।

नेपालको नक्सा नोटमा प्रकाशित गर्नेसम्बन्धी विषयबारे उनले बोलेको विषयमा यसअघि राष्ट्रपतिले नै उनीसँग सोधखोज गरेका थिए । त्यसपछि उनले विज्ञप्ति जारी गरेर आफ्नो बचाउ गरेका थिए ।

आफूले पूर्वगभर्नर र अर्थशास्त्रीका हैसियतमा भनेको कुरालाई गलत आशयले प्रचार गरेको र सम्मानित संस्थालाई अनावश्यक विवादमा ल्याएकामा दुःख व्यक्त गर्दै नेपालले आफ्नो भनाइ भनेर आएका सम्बन्धित विचारको नैतिक जिम्मेवारी आफैँ लिएको पनि वक्तव्यमा स्पष्ट पारेका थिए ।

उनले १०० को नोटमा चुच्चे नक्सा राखेर सरकारले भारतलाई चिढ्याउने कार्य गरेको आशयको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको एमाले अध्यक्ष केपी ओलीले समेत आलोचना गरेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ११ : ४४ बजे