Logo

विश्व

बन्धक छोडिए भोलिपल्टै युद्धविराम हुन्छ : बाइडेन



गाजा । इजरायलले फेरि दशौँ हजार प्यालेस्टाइनलाई दक्षिणी गाजा क्षेत्र छोड्न चेतावनी दिएको छ । इजरायलले पुनः दक्षिणी गाजामा सैन्य कारबाही गर्ने संकेत दिँदै सो चेतावनी दिएको हो ।

जहाजबाट खसालिएका फ्लायर्स र सोसल मिडियामार्फत प्यालेस्टाइनलाई अल मवासी क्षेत्रमा जान भनिएको छ । यसअघि इजरायलले रफाहबाट एक लाख मानिसलाई बाहिर जान भनेको थियो ।

अमेरिकाले सो आक्रमण रोक्न यसअघि इजरायललाई चेतावनी दिँदै इजरायललाई पठाउन तयार पारेको बमको आपूर्ति समेत रोकेको थियो ।

उता अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार एक कार्यक्रममा बोल्दै हमासले बन्धक रिहा गरेको भोलिपल्टै गाजा क्षेत्रमा युद्धविराम हुने जनाएका छन् ।

सियाटलमा एक फन्ड रेजिङ कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै इजरायलले अब सबैकुरा हमासमा निर्भर रहेको बताएका छन् ।

गएको ७ अक्टोबरमा हमासको आक्रमणमा इजरायलबाट १२८ जनालाई बन्धक बनाइएको जनाइएको थियो । ती मध्ये ३६ जनाको मृत्यु भइसकेको अनुमान गरिएको छ ।

अमेरिका र इजरायल रणनीतिक साझेदारका रूपमा चिनिए पनि इजरायलले पछिल्लो समयमा रफाहमा गरेको आक्रणपछि दुई देशका शीर्ष अधिकारीहरूबीच नै भनाभनको अवस्था सिर्जना हुँदै आइरहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  १० : ०८ बजे