Logo

मुख्य समाचार

‘पर्यटन प्रवर्धनमार्फत समृद्धितर्फ लागौं’



काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा रहेका सांस्कृतिक र प्राकृतिक सुन्दरताको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्धनमार्फत समृद्धि हासिल गर्न सबै राजनीति दल र जनप्रतिनिधि एक भएर लाग्नुपर्ने बताएका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका–१० को नवनिर्मित वडा कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उनले भौगोलिक जटिलता रहेको महालक्ष्मी नगरपालिका राजनीतिक दलहरुबाट उपेक्षित रहनु दुखद् बताउँदै यसको विकासमा सबै एक भएर लाग्नुपर्ने बताए ।

‘जंगलको बीचमा रहेको यो वडामा वन्यजन्तुको भय भएको, हिउँदमा चिसोले कठ्यांग्रिने, बर्खामा उत्पादन केही पनि नहुने र जुका लागेर घाँसदाउरा गर्न अवरोध हुने परिस्थिति छ । यो वडा सबैभन्दा पछाडि र अपहेलनामा परेको ठाउँ हो । तर, आज एउटा आकर्षणको केन्द्र बनेको छ । यस क्षेत्रको सामाजिक विकास र भौतिक विकास लागि जनप्रतिनिधिहरु अझै जागरुक हुने बेला आएको छ,’ उनले भने, ‘जनप्रतिनिधि र राजनीतिक दलमा इच्छाशक्ति भयो भने हरेक क्षेत्रको विकास सम्भव हुन्छ । स्थानीय तहको विकास र आकर्षणका लागि जनप्रतिनिधि र राजनीतिक दलले योजना बनाएर लाग्नुपर्ने आजको आवश्यकता हो ।’

सभामुख घिमिरेले उद्घाटन भएको भवनबाट जनताको दैनिक सेवासुविधालाई सहज बनाउन गुणात्मक उपलब्धि हासिल होस् भन्ने कामना गरे ।

स्थानीय जनताको प्रयत्न र लगनशीलताले मात्रै समृद्धि हासिल हुने बताउदै उनले आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ६ : ०६ बजे