Logo

समाचार

नोबेल शिक्षण अस्पतालमा कार्यरत नर्सको हत्या



विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स मृत अवस्थामा फेला परेकी छन् । घटनाको प्रकृतिअनुसार उनको हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिरहाको फुलकट्टी घर भएकी २२ वर्षीया चन्द्रिकाकुमारी दास हत्या गरेर फालेको अवस्थामा विराटनगर महानगरपालिका–४ स्थित एक घरमा आज भेटिएकी हुन् ।

उनी उक्त स्थानमा रहेको धिरेन्द्र गिरीको घरमा डेरा बस्दै नोबेल शिक्षण अस्पतालमा काम गर्दै आएकी थिइन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालमा अनुसार उनी बसेको घरको कोठाभित्रको शौचालयमा शव फेला परेको थियो ।

घाँटी र शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको थियो । उनको शरीरभरि चोटैचोट देखिएको छ ।

प्रहरीले घटनास्थलको अध्ययन गरी अनुसन्धान सुरु गरेको जनाएको छ । कसले किन हत्या गरेको भन्ने खुलेको छैन।

घटनाको विभिन्न कोणबाट अनुसन्धान थालिएको डीएसपी दाहालले बताए ।

घटनास्थल आसपासका स्थानीयसँग सोधपुछ गर्ने, घरका मानिसहरुसँग बुझ्ने लगायत काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ४ : ३१ बजे