Logo

खेलकुद

इक्वालिटी कप महिला क्रिकेटको फाइनलमा इलाम र मोरङ भिड्ने


२३ फाल्गुन २०८०, बुधबार  

92
Shares

विराटनगर  । नेपाल क्रिकेट फाउण्डेसन र मोरङ क्रिकेट संघको आयोजनामा जारी तेस्रो संस्करणको इक्वालिटी कप महिला क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा जित निकाल्दै इलाम र मोरङ फाइनलमा प्रवेश गरेका छन् ।

विराटनगर–६ स्थित ज्वाला क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा इलामले सिरहालाई ४ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

इलामले लगातार दुई खेलमा जित हात पारेको छ । पहिलो खेलमा सप्तरीलाई पराजित गरेको थियो । हारपछि सिरहा एक खेल खेल्नु अगाडि नै प्रतियोगिताबाट बाहिरिएको छ ।  

टस जितेर ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरको खेलमा १५ ओभरमा सवै विकेट गुमाई ५३ रनको सामान्य योगफल तयार पारेको थियो । सिरहाका कुनै पनि ब्याटरले दोहोर स्कोर जोड्न सकेनन् । इलामकी प्लेयर अफ द म्याच यमुना राईले ४ विकेट लिँदा मुना राई र पुस्मिता मुखियाले २–२ विकेट लिए ।

५४ रनको सामान्य लक्ष्य पाएको इलामले १० दशमलव १ बलमा ६ विकेट गुमाई  भेट्टाएको थियो । इलामकी प्रियंका राईले सर्वाधिक नटआउट २१ रनको योगदान दिइन् ् । सिरहाकी अपेक्षा यादव र साक्षी यादव ३–३ विकेट लिइन् ।

आजै भएको दोस्रो खेलमा मोरङले सप्तरीलाई ८ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । मोरङले लगातार दुई खेलमा जित हात पारेको छ । पहिलो खेलमा सिरहालाई पराजित गरेको थियो ।

हारपछि सप्तरी एक खेल खेल्नु अगाडिनै प्रतियोगिताबाट बाहिरिएको छ ।  । टस जिेतर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ७  गुमाई ७३ रनको स्कोर खडा गरेको थियो । सप्तरीका कुनै पनि ब्याटरले दोहोर स्कोर जोड्न सकेनन् ।

मोरङकी प्लेयर अफ द म्याच सानु राजवंशीले २ विकेट लिँदा कृतिसा धामी र चाँदनी यादवले पनि २–२ विकेट लिइन् ।

७४ रनको लक्ष्य पछ्याएको मोरङले ८ दशमलव १ बलमा २ विकेट गुमाउँदै लक्ष्य पार गरेको छ । मोरङका लागि  सानु राजवंशीले २५ रन बनाउँदा नमिता श्रेष्ठले नटआउट २० रनको योगदान दिइन् । सप्तरीकी मिना महतो र अजमेरि खातुनले १–१ विकेट लिइन् । 

बिहिवारको पहिलो खेल मोरङ र इलाम र दोस्रो खेल सप्तरी र सिरहाबीच हुने खेल संयोजक विशाल साहले बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ५ : ०६ बजे