Logo

राजनीति

भविष्यमा गठबन्धन गर्ने विषय तत्कालिन परिस्थितिमा निर्भर : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलीय गठबन्धनको भविष्य तत्कालिन परिस्थितिमा निर्भर रहने बताएका छन् ।

ललितपुरको गोदावरीमा सोमबार पार्टीको महासमिति बैठक उद्घाटन गर्दै उनले  संविधानको रक्षाका लागि नेपाली कांग्रेसकै पहलमा तत्कालिन गठबन्धन भएको भन्दै उनले भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालिन परिस्थितिमा निर्भर रहने बताए ।

उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताए । लोकतान्त्रिक व्यवस्थाले नै सबै समस्यालाई समाधान गरेर देशलाई विकासको बाटोमा लान सक्ने भन्दै उनले लोकतन्त्रको विकल्प खोज्न नहुनेमा जोड दिए ।

लोकतन्त्र स्थापनाका लागि कांग्रेसले लामो संघर्ष गरेको इतिहास रहेको उनले बताए ।

महासमिति बैठक उनले विरुवामा पानी हालेर उद्घाटन गरेका थिए । बैठकमा विभिन्न प्रतिवेदन र प्रस्तावहरु पेस गर्ने कार्यतालिका छ ।

बैठकमा दस्तावेजहरु प्रस्तुत हुने र सहभागीले ती विषयहरुलाई अध्ययन गरेर आफ्नो विचार राख्ने सभापति देउवाले बताए । प्रस्तुत भएका धारणा, विचार र सुझावहरु संकलन गरेर नीतिगत दस्तावेजहरु परिमार्जन गरि पारित गरिने जानकारी उनले दिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ४ : ४६ बजे