Logo

अर्थ

सरकार झन्डै एक खर्ब घाटामा, ७ महिनामा कति उठ्यो राजस्व ?


३ फाल्गुन २०८०, बिहिबार  

92
Shares

काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनामा सरकार बजेट कार्यान्वयनमा झन्डै एक खर्ब घाटमा देखिएको छ । साउनदेखि माघ मसान्तसम्म सरकारले ६ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको बजेट खर्च गर्दै गर्दा यता राजस्वतर्फ जम्मा ५ खर्ब ९७ अर्ब २४ करोड रुपैयाँ मात्र उठेको छ ।

समीक्षा अवधिमा आय व्ययको सरकारी खाता ९९ अर्ब ७८ करोड रुपैयाँले घाटामा गएको हो । उसो त लक्षित राजस्वको लक्ष्य भेट्न नदेखेपछि सरकारले अर्धवार्षिक समीक्षामार्फत विनियोजित बजेट संशोधन गरिसकेको छ । मङ्गलवार बजेटको अर्धवार्षिक समीक्षा गरेको सरकारले २ खर्ब २१ अर्ब रुपैयाँले बजेट घटाएको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । ७ महिनामा विनियोजित बजेटको जम्मा ३९.८ प्रतिशत अर्थात् ६ खर्ब ९७ अर्ब २ करोड ४९ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ । यसमा पनि विकास खर्चतर्फ छुट्याइएको पुँजीगत खर्चको स्थिति नाजुक रहेको छ ।

आर्थिक वर्षका लागि जम्मा ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ पुँजीगत खर्च छुट्याएकोमा हालसम्म जम्मा ६४ अर्ब ४४ करोड २२ लाख (विनियोजित बजेटको २१.३३ प्रतिशत) मात्र खर्च हुन सकेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । संशोधित बजेटमार्फत पुँजीगत खर्च १५.७६ प्रतिशतले कटौतीमा परेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ३ : ०२ बजे