Logo

मनोरञ्जन

‘गोर्खा वारियर’ देश दौडाहामा



काठमाडौं । आगामी फागुन ११ गतेबाट रिलिज हुने फिल्म ‘गोर्खा वारियर’ यतिबेला प्रमोसनका लागि देश दौडाहामा छ ।

गत मंगलबार धरानदेखि प्रमोसन यात्रामा निस्किएको फिल्मको टोलीले बुधबार चितवनको नारायणघाटमा प्रमोसनको काम पुरागरी बिहीबार बुटवलमा पत्रकार, नेपाली सेना र स्थानीयबासीसँग अन्तरक्रिया गर्दैछ ।

फिल्मका निर्देशक मिलन चाम्सले ‘गोर्खा वारियर’ गोर्खाली सेनामा आबद्ध रहेका पुर्खाहरुको मौलिक फिल्म भएकाले फिल्ममा ७० वर्ष अघिको नेपाली मौलिक सामाजिक कथावस्तु र गोर्खाली युद्धको गाथा देखाइएको बताए ।

‘हामी त्यही विषयमा आम दर्शकमा जानकारी दिन देश दौडाहामा छौं । हामी स्थानीय पत्रकार र सञ्चारकर्मीसँग भेटघाटसँगै सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, विद्यार्थी र सर्वसाधारणसँग फिल्मबारे अन्तरक्रिया गरिरहेका छौं’, मिलनले भने ।

मिलनले बुटवलको प्रमोसन सकेपछि शुक्रबार पोखरामा प्रमोसन गर्ने बताए । ‘पोखराको प्रमोसन सकेपछि काठमाडौं लक्षित प्रमोसन गर्नेछौं’, उनले भने । मिलनका अनुसार फिल्म सोलुखुम्बुका पहाडी क्षेत्र, सगरमाथा, सिन्धुलीको जङ्ल र दरबार तथा मलेसियामा छायाङ्कन गरिएको छ ।

फिल्मकी अभिनेत्री रेविका गरुङले फिल्ममा काम गरिरहँदा पुर्खाहरुको झझल्कोसँगै उनीहरुले गरेको दुःख र संघर्षलाई नजिकबाट नियाल्न पाएको बताइन् ।

पूर्वब्रिटिस सेना तथा पाइलटसमेत रहेका अभिनेता रितेश चाम्सले फिल्मका लागि तीन वर्ष तयारी गरेको बताए । फिल्ममा रेविका गुरुङ, रितेश चाम्ससँगै विजय लामा, कविता आले, रिअर राई, सुरज तमु, भुवनसिं राई, त्रिछु राई, दिग्गज खत्रीलगायतको कलाकारको अभिनय छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ११ : ३७ बजे