Logo

खेलकुद

झापा गोल्डकपका लागि मैदान स्तरोन्नति गरिँदै



विराटनगर । छैटौँँ संस्करणको झापा गोल्डकप २०८० सुरु हुन एक महिना बाँकी छँदा खेल मैदान स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।

फागुन १९ गतेदेखि हुने झापा गोल्डकपका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत सुरु गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

मैदानको झार गोडेर रंगशालालाई पुरानै अवस्थामा पुर्याउन गोडमेल तथा मर्मतको काम सुरु गरिएको हो ।

खेल मैदानको आकर्षणमा कुनै कृत्रिमता नहुने र प्राकृतिक घाँसे मैदानलाई मिलाएर बुट्टादार बनाइने बस्नेतले बताए ।

रंगशालामा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट पनि निर्माण गरिने महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।

नेपालकै उत्कृष्ट र आकर्षक मानिएको फुटबल मैदान डोमालाल राजवंशी रंगशालाको स्तरोन्नतिका लागि तीव्र गतिमा काम भइरहेको पौडेलले बताए ।

झापा गोल्डकपजस्तो प्रतिष्ठित प्रतियोगिता हुने सो मैदानको आकर्षण नघटोस भनेर आयोजक समितिले काम सुरु गरेको हो । रंगशालामा उम्रिएका झार उखेल्ने तथा प्राकृतिक घाँस रोप्ने काम थालिएको छ ।

छैटौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद सात लाख रुपैयाँ प्राप्त गर्ने कोषाध्यक्ष केदार गिरीले जानकारी दिए । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृृष्ट फरवार्ड, उच्च गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई नगद २५ हजार प्रदान गरिने गिरीले बताए । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ दिइनेछ ।

प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लबसहित नेपालका ए डिभिजन क्लब र विदेशी क्लबको सहभागिता रहनेछ । झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ३ : ३२ बजे