Logo

Breaking News 1

शान्ति सुरक्षाका विषयमा संघ र प्रदेशबिच छलफल



काठमाडौं । मुलुकको शान्ति सुरक्षा थप मजवुद बनाउन तीन तहका मन्त्रीहरुबिच छलफल भएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले तीन तहमा भइरहेको शान्ति सुरक्षाका विषयमा बृहत छलफल भएको हो । संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्धी ऐन २०७७ को दफा २२ बमोजिम बसेको बैठकमा सबै प्रदेशका आन्तरिक मामिला तथा गृह प्रशासन हेर्ने मन्त्रीहरुको सहभागिता थियो ।

बैठकले प्रहरी समायोजना ऐन, नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय गर्ने ऐन परिमार्जन गर्ने निर्णय गरेको गृह मन्त्रालयका सह सचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनले मुलुकको शान्ति सुरक्षा थप मजबुत बनाउनका लागि संघीय गृह मन्त्रालय र प्रदेशमा सम्मिलित मन्त्रालयहरुले थप सहकार्य गर्ने, प्रदेश सरकारहरु बिचको सहकार्यलाई थप बलियो बनाउने र प्रहरी समायोजनलाई छिटो अगाडि बढाउने जस्ता निर्णय भएको पनि जानकारी दिए ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ४ : २१ बजे