Logo

खेलकुद

फ्रेन्च लिग वानमा नाइस विजयी



काठमाडौं । फ्रेन्च लिग वानमा नाइस विजयी भएको छ । शनिबार राति भएको खेलमा नाइसले मेट्जलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नाइसले ७७ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्न पुग्यो । इभान गुसान्डले गरेको प्रहार गोलमा परिणत हुँदा १–० को अग्रता लियो । सोही अग्रता अन्तिमसम्म जोगाउँदै नाइसले ३ अंक लिन सफल भयो ।

नाइस फ्रेन्च लिग वानमा ३८ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । मेट्ज भने १६ अंकका साथ १५ औं स्थानमा छ । शीर्ष स्थानमा रहेको पीएसजीले १८ खेलबाट ४३ अंक जोडेको छ ।

यस्तै, शनिबार नै भएको अर्को खेलमा मार्सेली र मोनाकोले २–२ गोलको बाराबरी खेलेका छन् । मोनाको ९ खेलाडीमा झरेको थियो ।

७ औं मिनेटमा विसम वेन एडरले गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए । ११ औं मिनेटमा गुलिरिमो मरिपान रातो कार्ड पाउँदै मैदान छाड्दा १० खेलाडीमा समेटियो ।

३८ औं मिनेटमा मार्सेलीले बराबरी गोल फर्काएको थियो । पेरे एमरिकले गोल गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा मोनाकोका लागि म्यागनेस एक्लीओचले गोल गर्दै २–१ को अग्रता दिलाए ।

५० औं मिनेटमा लियोनार्दो बेलर्डी रोसाले मार्सेलीका लागि  बराबरी गोल गरे ।

८६  औं डेनिस जकेरिया दोस्रो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाड्दा मोनाको ९ खेलाडीमा झरेको थियो । त्यसपछि दुवैले गोल गर्न नसक्दा एक एक अंकमा चित्त बुझाए । बराबरीले मोनाको ३४ अंकका साथ तालिकाको चौथो स्थानमा छ भने मार्सेली २९ अंकका साथ तालिकाको छैटौं स्थानमा छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १० : ५३ बजे