Logo

खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : बागमतीमाथि गण्डकी ३ विकेटले विजयी



काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा दोस्रो जित निकाल्ने क्रममा दोस्रो स्थानमा रहेको बागमती प्रदेशलाई गण्डकी प्रदेशले ३ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पराजित भएपछि बागमतीले शीर्ष स्थानमा उक्लने मौका गुमायो ।

पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरको ५ बल बाँकी हुँदा सवै विकेट गुमाएर १९८ रन बनाएको थियो ।

जवाफमा गण्डकी प्रदेशले ४९.३  ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्दै ३ विकेटको जित दर्ता गरेको हो ।

बागमतीका लागि आशुतोष घिररैयाले ४४ रन बनाउँदा इशान पाण्डेले ४३ रनको योगदान गरे । यसैगरी विपिन आचार्यले ३८ तथा  अशोक पौडेलले ३० रन बनाए । सूर्य तामाङको ब्याटबाट १५ रन बन्दा बागमतीले अतिरिक्त ११ रन पाएको थियो ।

गण्डकीका कमल परियारले सर्वाधिक ४ विकेट लिँदा अमृत गुरुङ र विपिन खत्रीले दुई दुई विकेट लिए । सन्दीप पराजुलीको नाउँमा १ विकेट रह्यो ।

१९९ रनको लक्ष्यसहित मैदान उत्रिएको गण्डकी प्रदेशले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गर्दै आफूलाई अघि बढाएको थियो ।

गण्डकीका लागि करण पंगेनीले उत्कृष्ट पारि खेल्दै ७४  रन बनाए । इश्वर क्षत्रीले ३६ रन बनाउँदा मुस्कान थापाले २७  रन बनाए ।

समिर कँडेलले १९ रन बनाउँदा कमल परियार २० रन बनाएका थिए । अन्त्यमा कृष ऐर र अंकित  न्यौपानेले नटाउट पारि खेल्दै जिते ।

अंकितले ६ तथा कृषले ३ रन बनाए । बागमतीका प्रतिश जीसीले २ विकेट लिँदा रिजन ढकाल, सूर्य तामाङ, विपिन आचार्यले एक एक विकेट लिए ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ५ : ०७ बजे