Logo

Breaking News 1

सहाव आलमको आक्रमक बलिङ, कोशीमाथि आर्मीको एकतर्फी जित



काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय क्लब त्रिभुवन आर्मीले कोशी प्रदेशमाथि ९ विकेटको जित निकालेको छ ।

मूलपानी क्रिकेट मैदानमा कोशी प्रदेशलाई ८८ रनमा समेटेको आर्मीले १ विकेट गुमाएर लक्ष्य पूरा गर्दै ९ विकेटको जित निकालेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको कोशी प्रदेशले २४.४ ओभरमा सवै विकेट गुमाएर ८८ रन बनाएको थियो ।
कोशीका कप्तान अंकित सुवेदीले ३७ बलमा सर्वाधिक ४१ रन बनाए । उनले ९ चौका प्रहार गरेका थिए । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । अतिरिक्त रन भने १९ आएको थियो ।

कोशीलाई एकदमै थोरै स्कोरमा समेट्न आर्मीका सहाव आलमले सर्वाधिक ६ विकेट लए । उनले ६.४ ओभर बलिङ गर्दा ३ ओभर मेडन राख्दै १४ रनमात्र खर्चिए । यसैगरी कुशल मल्लले २ विकेट लिँदा सोमपाल कामी र विवेक यादवले एक एक विकेट लिए ।

८९ रनको सामान्य लक्ष्य आर्मीले ९.५ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गरेको थियो । इमरान शेख ३२ रनमा आउट भएका थिए । सन्तोष कार्कीले ३२ तथा कुशल मल्लले २२ रनको नटआउट पारि खेल्दै आर्मीलाई सहजै जित दिलाए ।

सन्तोषले २७ बल फेस गर्दा १ छक्का र ६ चौका प्रहार गर्दा कुशलले ७ बलमा १ छक्का र ४ चौका प्रहार गरेका थिए । आर्मीले गुमाएको १ मात्र विकेट कोशीका सुजन थपलियाले हात पारे ।

प्रधानमन्त्री कपमा ३ खेलबाट ४ अंक बनाएको आर्मी तालिकाको चौथो स्थानमा छ भने सबै ४ खेल गुमाएको कोशी प्रदेश पुछारमा रहेको छ ।

आर्मीले पहिलो खेलमा मधेश प्रदेशलाई पराजित गरेको थियो भने दोस्रो खेलमा बागमति प्रदेशसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ३ : ०० बजे