काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विरोधीहरूले संघीयता र प्रदेश सरकारमाथि हमला गरिरहेको बताएका छन् ।
बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले संघीयता सम्बन्धी कतिपय कानुनहरु नबन्दा विरोधीहरुले हमला गरिरहेको प्रतिक्रिया दिएका हुन् ।
बैठकमा प्रधानमन्त्रीले संघीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिएका हुन् ।
बैठकमा प्रधानमन्त्रीले भने, ‘संघीयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो, त्यसो हुन सकेको छैन । त्यसको प्रत्यक्ष प्रभाव प्रदेशहरूलाई परिरहेको छ । यसले एकातर्फ प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएका छन्, अर्कोतर्फ यसैलाई बहाना बनाएर संघीयता विरोधीहरूले संघीयता र प्रदेश सरकारमाथि हमला गरिरहेका छन् । त्यसैले ऐनअनुसार समायोजनको काम १५ दिनभित्र टुंगाउनुस् ।’
छलफलका क्रममा प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंगाउन पनि प्रधानमन्त्रीले निर्देशन दिए । प्रहरी समायोजनको प्रक्रिया टुंगाउन बोलाएको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा.बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुंवर, गृह मन्त्रालयका अधिकारीहरू उपस्थित थिए ।
प्रधानमन्त्रीले प्रहरी नेपाल (प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय) ऐन २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै १५ दिनभित्र समायोजनको प्रक्रिया टुंगाउन निर्देशन दिएका छन् ।
प्रतिक्रिया