Logo

समाचार

विन्ध्यवासिनीमा ७७ जनाले गरे रक्तदान



पोखरा । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा भएको रक्तदानमा ७७ युनिट रगत संकलन भएको छ ।

विद्यालयको ७७औं वार्षिक उत्सव तथा अभिभावक दिवसको पूर्वसन्ध्यामा बिहीबार आयोजित कार्यक्रममा अधिकांश नयाँ रक्तदाता सहभागी भए । नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति उर्मिला खड्काले विद्यालयका सहप्रधानाध्यापक रामबहादुर बानियाँलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरिन् ।

खड्काले देशकै नमुना विद्यालयले गुणस्तरीय शिक्षासँगसँगै मानवीय कार्यमा समेत महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा गरिन् । प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले बिरामीको जीवन बचाउन रक्तदान महत्वपूर्ण रहेकाले नयाँ रक्तदातालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । रेडक्रसका जिल्ला सदस्य सुवासबाबु अधिकारीले मानवीय सेवामा रेडक्रसले खेलेको भूमिकाको चर्चा गरे ।

कार्यक्रममा ५० औं पटक रक्तदान गरेका रामबहादुर बानियाँ, ४८ औं पटक रक्तदान गरेका धर्मराज थापा, ३१ औं पटक रक्तदान गरेका नवीन्द्र तिमिल्सिना, २८औं पटक रक्तदान गरेका प्रकाश अधिकारी, २४ औं पटक रक्तदान गरेका बैकुण्ठ पौडेल, १९ औं पटक रक्तदान गरेका ओम थापा लगायतले नयाँ रक्तदातालाई प्रोत्साहन गरेका थिए ।

कार्यक्रममा रक्तदातालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

यसैबीच बिहीबारबाटै विद्यालय प्रागंणमा दुईदिने विज्ञान प्रदर्शनी समेत सुरु भएको छ । विद्यार्थीले बनाएका विज्ञान प्रविधिसँग सम्बन्धित वस्तुहरु प्रदर्शनीमा राखिएको छ । सामुदायिकमा मुलुककै पहिलो नमुना बनेको विन्ध्यवासिनी मावि पोखराको पुरानो विद्यालय हो ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ६ : ११ बजे