सर्लाही । नेपाली कांग्रेसले सर्लाहीको बरहथवा नगपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको घट्नाप्रति दुःख व्यक्त गरेको छ ।
प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर स्थानीय जयशंकर साहको मृत्यु भएको घटनामा ध्यानाकर्षण भएको जनाउँदै कांग्रेसले घट्नाको छानविन गर्न माग गरेको छ ।
मुख्य सचिव कृष्ण प्रसाद पौडेलले विज्ञप्ती जारी गर्दै घटनामा केही व्यक्ति घाइते भएको र त्यसपछि उत्पन्न घटनाप्रति दुःख व्यक्त गर्दै कांग्रेसले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।
‘घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानविन गर्नुका साथै घटनामा घाईते भएकाहरुको उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न सरकारसँग नेपाली कांग्रेस माग गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।
हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन समेत कांग्रेसले आग्रह गरेको छ ।
प्रतिक्रिया