Logo

समाचार

अदालत अवहेलना मुद्दामा प्रचण्डले पाए सफाइ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले अदालत अवहेलना मुद्दामा सफाइ पाएका छन् ।

सात वर्षअघि दर्ता भएको मुद्दामा शुक्रबार सर्वोच्च अदालतले निर्णय सुनाउँदै अवहेलना गरेको ’मागदाबी नपुग्ने’ फैसला गरेको हो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले रिट निवेदकले माग गरेबमोजिम मुद्दामा प्रतिवादी बनाइएका पुष्पकमल दाहाल ’प्रचण्ड’ले अवहेलना गरेको नदेखिएको निर्णय सुनाएको हो ।

सो मुद्दामाथि असोज ७ गते सुनुवाइ सकिएको थियो । त्यसपछि मंसिर १८ गते निर्णय सुनाउने भनिए पनि आजलाई सारिएको हो ।

द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलाबारे टिप्पणी गरेपछि कानुन व्यवसायी दिनेश त्रिपाठीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध १२ जेठ २०७३ मा सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए ।

गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याको अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएपछि प्रचण्डले आफ्ना पार्टीका नेताहरूलाई चुनाव लड्न नदिने षडयन्त्र भएको भन्दै द्वन्द्वकालका मुद्दा व्यूँताए विद्रोही गर्ने चेतावनी दिएका थिए । शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा अदालतले फौजदारी कसुरमा फैसला तथा सदर गरेको भन्दै प्रचण्डले अदालतको आदेश र फैसला नमान्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

सो अभिव्यक्तिपछि कानुन व्यवसायी त्रिपाठीले प्रचण्डलाई विपक्ष बनाइ अदालतको अवहेलनामा मुद्दा दायर गरेका थिए । कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आरोप लागेका सबै प्रतिवादीहरूलाई उच्च अदालत पाटन हेटौंडा इजलासले सफाइ दिएपछि सो विवाद सर्वोच्च पुगेको थियो ।

रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले एक अभियुक्तलाई थुनामा राखी सुनुवाइ अघि बढाउने आदेश दिएपछि रोकिएको मुद्दा फेरि व्यूतिएको थियो। अधिकारी हत्याको जिम्मा माओवादीले लिएको थियो ।

लामो समयसम्म छोराका हत्यारालाई कारबाही नभएपछि अधिकारीका बुवा नन्दप्रसाद अधिकारीले अनशन सुरू गरेका थिए । उनको अनशनकै क्रममा मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ४ : १२ बजे