Logo

समाचार

४५ किलो गाँजासहित युवक पक्राउ



विराटनगर । प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूपदार्थ गाँजासहित एकजना युवकलाई विराटनगरमा पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१८ स्थित खेतमा लुकाएर राखेको अवस्थामा ४५ किलो गाँजा बरामद गरेको हो ।

प्लाष्टिकमा पोका पारेर खेतमा परालले छोपेर राखेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको हो ।

गाँजा लुकाएर राखेको आरोपमा विराटनगर–१८ का १९ वर्षीय नन्दु यादवलाई  पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।

भारत लैजाने उद्देश्यले गाँजा उक्त स्थानमा राखिएको पाइएको उनले बताए ।

गाँजासहित यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

गाँजा ओसारपसारमा अरु पनि संलग्न भएको अनुमान गरिएको छ । प्रहरीले पक्राउ परेका युवकसँग बयान लिएर त्यसअनुसार खोजी अघि बढाउने तयारी गरेको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  १ : २८ बजे