Logo

Breaking News 1

मन्त्रिपरिषद् पुनर्गठन : राष्ट्रियसभा निर्वाचन अघि हतार नगर्न प्रधानमन्त्रीलाई सल्लाह



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरु फेरबदल गर्ने आन्तरिक तयारी सुरु गरेका छन् ।

सत्तारुढ गठबन्धन दलका नेतृत्वलाई दाहालले आफू मन्त्रीहरु हेरफेर गर्ने तयारीमा लागेको सूचना दिइसकेका छन् । तर गठबन्धन दलका नेताले राष्ट्रिय सभा निर्वाचनअघि हतार नगर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएको थाहा भएको छ ।

आज मंगलबार राष्ट्रिय सभा निर्वाचनको प्रसंगमा परामर्श गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेताहरुसँग बसेका दाहाललाई मन्त्रिपरिषद् पुनर्गठनमा हतार नगरी सत्ता गठबन्धनको भावनाअनुसार अघि बढ्न सुझाव दिइएको बैठकमा सहभागी एक नेताले बताए ।

राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुँदैछ । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले मन्त्रिपरिषद् हेरफेरलाई भन्दा राष्ट्रिय सभा निर्वाचनलाई बढी महत्व दिएकाले प्रधानमन्त्री त्यतिञ्जेल पर्खन तयार भएको थाहा भएको छ ।

प्रधानमन्त्री दाहाल निकट सूत्रले मन्त्रिपरिषदमा हेरफेरको आन्तरिक तयारी भइरहेको संकेत गर्दै राष्ट्रिय सभाको निर्वाचनअघि भने त्यसले औपचारिकता नपाउने बतायो । कांग्रेस र अन्य गठबन्धन सदस्य दलहरुसँग परामर्श भइरहेको, उनीहरु पनि आफ्ना तर्फबाट सरकारमा प्रतिनिधित्व गरिरहेका सदस्यबारे पुनर्विचार गरिरहेको र फेरबदल हुँदा प्रतिनिधित्व गर्ने सदस्यको तयारी गरेर बस्ने सल्लाह भएअनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचन लगत्तै पुनर्गठन हुने प्रधानमन्त्री निकट सूत्रको भनाइ छ ।

कांग्रेसका नेता शेखर कोइरालाले यो सरकारको विकल्पमाथि जोड दिँदै नियमित रुपमा आलोचना गरिरहेको कुराबाट प्रधानमन्त्री दाहाल सतर्क भएको बताइएको छ । कतै कांग्रेस नै यो गठबन्धनको विकल्प सोचिरहेको त छैन भन्ने आकलन गरेर दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि निश्चित दूरीमा सहकार्यको संवाद गरिरहेको बालुवाटार सूत्रले बताएको छ ।

यसैबीच सत्तारुढ दल माओवादी केन्द्रका नेता अग्नि सापकोटाले प्रधानमन्त्री दाहाल मन्त्रीमण्डल पुनर्गठन गरी सरकारी कामलाई प्रभावकारी बनाउने योजनामा रहेको बताएका छन् ।

पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले मंगलबार संवाददाताहरुसँग प्रधानमन्त्री दाहालको अभिव्यक्तिले पुनःगठनका लागि तयारी गरिरहेको भन्ने बुझिने बताए । गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको तयारी रहेको उनले बताए ।

‘प्रधानमन्त्रीको अभिव्यक्ति बुझ्दा आवश्यक पर्दा पुनर्गठनका लागि तयारी गर्दैछु भन्ने छ । गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्नुपर्छ भन्ने लागेको छ । तर प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँमा पुनर्गठन गरेर सरकारको कामलाई प्रभावकारी बनाउनुपर्छ भन्ने छ,’ सापकोटाले भने ।

तेस्रो पटक प्रधानमन्त्री हुँदा पहिलो पटक एक वर्ष पूरा गरेका दाहाल यो कार्यकालको दोस्रो वर्ष सुरु गर्दैगर्दा केही नयाँ अध्याय थाल्ने तयारीमा रहेको उनको सचिवालय सूत्रले बताएको छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल पुस १०, २०७९ आइतबार प्रधानमन्त्री चुनिएका थिए । तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले भोलिपल्ट सोमबार साँझ दाहाललाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन ।

२०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दल बनेको थियो । दाहाल २०६५ साउनमा पहिलो पटक प्रधानमन्त्री नियुक्त भएका थिए । त्यति बेला उनी काठमाडौं–१० र रोल्पा–२ बाट संविधानसभामा निर्वाचित भएका थिए ।

संविधान नबनेपछि २०७० सालमा फेरि संविधानसभाको निर्वाचन भएको थियो । त्यसमा उनी सिरहा–५ बाट निर्वाचित भएका थिए । त्यसपछि उनी २०७३ साउन १९ गते व्यवस्थापिका–संसद्मा ३६३ सदस्यको बहुमत पाएर दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ६ : ४३ बजे