Logo

Breaking News 1

जित्नैपर्ने दबाबबाट बचौं : नगरप्रमुख साह



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले खेलकुदमा मेडल जित्नुभन्दा पनि विद्यार्थीले आफूलाई शारीरिक, मानसिक र भावनात्मक रुपमा बलियो बनाएर खेल क्षेत्रमा अरुलाई आकर्षित गराउनुपर्नेमा जोड दिएका छन् ।

महानगरद्वारा मंगलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा उनले खेलाडीहरुलाई मेडल जित्नैपर्ने दबाबबाट मुक्त गर्नुपर्ने धारणा राखे । उनले प्रतियोगितामा विस्तारै प्रतियोगीहरुको संख्या बढाउनुपर्नेमा जोड दिएरै आगामी दिनमा धेरै भन्दा धेरै विद्यार्थीलाई प्रतियोगितामा भाग लिन आग्रह पनि गरे ।

महानगरप्रमुख साहले भने, ‘यो प्रतियोगितामा ३२ सयभन्दा बढी विद्यार्थीले भाग लिनुभएको छ । आगामी दिनमा यो संख्या बढाएर विस्तारै १० हजार विद्यार्थीहरुले भाग लिनुहोस् । मेडल ल्याउनु ठूलो कुरा होइन, तपाईंहरुले खेल्दै जाँदा अरुलाई इन्स्पायर गराएर आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा हो । आफूसँगै अरुलाई इन्स्पायर गर्नुस् ।’

उनले खेलाडी विद्यार्थीलाई ठूलाठूला खेल जित्नलाई आफूले दबाब नदिने भन्दै थपे, ‘खेलकूद भनेको शारीरिक रूपमा दुरुस्त, मानसिक रुपमा अलर्ट र भावनात्मक रुपमा व्यक्तिलाई स्टेबल बनाउने चिज हो । तपाईंहरुलाई खेलकूदले त्यो चिजको विकास गराओस् ।’

आजबाट सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्ने छ । महानगरपालिका भित्रका ८३ विद्यालयका ३ हजार २ सय ५० जना छात्रछात्राले खेलका विभिन्न विधामा  सहभागिता जनाएका छन् ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १ : २९ बजे