Logo

Breaking News 1

नेपाल सुपर लिग: धनगढी एफसीलाई हराउँदै ललितपुर सिटी एफसी विजयी



काठमाडौँ । १० खेलाडीमा सीमित धनगढी एफसीलाई हराउँदै ललितपुर सिटी एफसीले नेपाल सुपर लिगको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा ललितपुर ३–२ गोलले विजयी बनेको हो ।

खेलमा अग्रता भने धनगढीले लिएको थियो । खेलको ३८ औँ मिनेटमा ओलावाले अफिजले धनगढीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा इमोह इजेकेइलले ललितपुरका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफमा आक्रामक खेलको प्रदर्शन गरेको ललितपुरले ५० औँ मिनेटमा दिनेश हेनजानको गोलको मद्दतले अग्रता लियो । आठ मिनेटपछि इजेकेइलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरको अग्रता फराकिलो बनाए । 

खेलको ८० औँ मिनेटमा रिचार्ड आग्येमाङले दोस्रो पहेँलो कार्ड खाएपछि धनगढी १० खेलाडीमा सीमित बन्यो । यसका बावजुद खेलको इन्जुरी समयमा धनगढीका अहमद हिजाजीले एक गोल फर्काएका थिए । तर बराबरी गोल फर्काउन निकै ढिला भइसकेको थियो ।

त्यसपछि कुनै गोल हुन सकेन र खेल ललितपुरले खेल आफ्नो पक्षमा पार्न सफल भयो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । पहिलो संस्करणको विजेताले ३५ लाख रुपैयाँ पाएको थियो भने यस सिजन भने उपाधिको रकम दोब्बर बनाइएको छ । पहिलो संस्करण काठमाडौँले जितेको थियो ।  

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ७ : ५५ बजे