Logo

Breaking News 1

महिला सहकारीको भविष्य उज्ज्वल : अर्थमन्त्री डा. महत



नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले महिलाको हातमा रहेको सहकारीको भविष्य उज्ज्वल रहेको बताएका छन् ।

नुवाकोट पञ्चकन्या–४ स्थित थप्रेक पञ्चकन्या महिला साना किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले पुरुषको तुलनामा महिलाहरु जिम्मेवारीलाई गम्भीररुपमा लिएर काम गर्ने बताए ।

उनले सानातिना आवश्यकता पूर्ति गर्न र आम्दानी बचत गर्न सहकारी स्थापना गरिएको भन्दै सरकारले यसमा सहयोग पनि गरिरहेको बताए ।

युवाहरु विदेशिने प्रक्रिया बढेसँगै घरभित्र मात्र होइन, घर बाहिरको जिम्मेवारी पनि महिलाको हातमा आएको पनि उनको भनाइ छ ।

गाउँघरको विकास अब महिला दिदीबहिनीको नेतृत्वमा अगाडि बढ्ने उनले बताए । जति पनि विकास निर्माणको काममा महिलाको चासो र चिन्ता बढेको पनि उनको भनाइ थियो ।

यस्तै, उनले ठूला ठूला भाषण गर्ने होईन सक्ने मात्रै बोल्ने र काम गरेर देखाउने आफ्नो बानी रहेको पनि बताएका छन् ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ७ : २२ बजे