काठमाडौं । नेपाल पुलिस क्लब प्रो क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । वीरगञ्जको नारायणी क्रिकेट रंगशालामा वान्डरस क्लब नोएडालाई ४ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । आजै पहिलो सेमिफाइनलमा नेपाल आर्मीलाई पराजित गर्दै पर्सा ११ले उपाधि भिडन्त पक्का गरिसकेको थियो ।
दोस्रो सेमिफाइनलमा पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा ७ विकेट गुमाएर ११२ रन बनाएको थियो । जवाफमा नोएडाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १०८ रनमात्रै बनायो । पहिला ब्याटिङ गर्दा पुलिसका लागि ओपनर सुनिल धमलाले ३४ रन बनाउँदा मध्यक्रममा अर्जुन साउदे ४२ रनको महत्वपूर्ण पारि खेले । यसैगरी दिलिप नाथले १० रन बनाउँदा अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।
शंकर राना र करण केसीले ५–५ रन बनाउँदा आरिफ शेख र शेर मल्लले ४–४ रन बनाए । यसैगरी र ासिद खानले १ रन बनाउँदा अमित श्रेष्ठ र सागर ढकालले खाता खोलेनन् । नोएडाका लागि अल्पित गुप्ताले २ विकेट लिँदा सञ्जीव चतुर्वेदी, दिवान्स रावत र ऋतिक भाटले एक एक विकेट लिए । ११३ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको नोएडा निर्धारित ओभरमा ९ विकेट गुमाएर १०८ रनमा रोकियो ।
नोएडाका लागि बन्स बेदीले ४३ रन बनाउँदा कप्तान अल्पित गुप्ताले २० रनको नटआउट पारि खेले पनि जित दिलाउन असफल रहे । यसैगरी उजिर मलिकले १२ रुन बनाउँदा सिद्धार्थ गोश्वामीले १३ रन जोडे ।
नेपाल पुलिस क्लबका सागर ढकालले ३ विकेट लिँदा रासिद खानले २ विकेट हात पारे । ललित राजवंशी र शेर मल्ले एक एक विकेट लिएका थिए । फाइनल खेल शनिबार हुने छ ।
प्रतिक्रिया