Logo

Breaking News 1

प्रहरी महानिरीक्षक कुँवरद्वारा जिल्ला प्रहरी बाजुराको भवन उद्घाटन



बाजुरा । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बाजुराको जिल्ला प्रहरी कार्यालय परिसरमा नवनिर्मित कार्यालय, निवास, ब्यारेक, हिरासत कक्ष तथा मेस भवनहरूको सोमबार उद्घाटन गरेका छन् । मार्तडीमा करिब नौ करोडको लागतमा निर्मित संरचनाले प्रहरीलाई काम गर्न सहज हुने उनले बताए ।

कार्यक्रममा उनले निर्माणमा सहयोग पु¥याउनेलाई प्रशंसापत्र प्रदान गर्नुका साथै नवनिर्मित भवनहरूको निरीक्षण समेत गरे ।

यस्तै, प्रहरी महानिरीक्षक कुँवरले नयाँ भवनबाट सम्पादन हुने प्रहरी कार्य पनि थप ऊर्जामय, नवीन सोच र उच्चस्तरको हुनुपर्ने चर्चा गर्दै नागरिकको सुरक्षामा अझ बढी मेहनत र व्यवसायिकताको साथ प्रस्तुत हुनुपर्ने बताए ।

नागरिकमैत्री वातावरण निर्माणमा अहोरात्र कटिबद्ध रहन उनले बाजुराका प्रहरी अधिकृतहरूलाई निर्देशन दिए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहरा, बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल र बडिमालिका नगर प्रमुख अम्मर खड्काको उपस्थिति थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब उपरीक्षक सुमन दाहालद्वारा प्रस्तुत भवन निर्माण सम्बन्धी प्रतिवेदनअनुसार नेपाल सरकारको बजेटबाट ८ करोड ७६ लाख ६७ हजार ६ सय ६४ रूपैयाँ लागतमा उक्त भवनहरू निर्माण भएको हो ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ५ : ३९ बजे