Logo

Breaking News 1

दक्षिण कोरिया जान १ लाख ४३ हजार बढिकाे आवेदन, ५३ करोड रुपैयाँ बाहिरियो



काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) बाट दक्षिण कोरिया जान १ लाख ४३ हजार भन्दा बढिले आवेदन दिए । उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेकोमा १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । उनीहरूले प्रतिव्यक्ति २८ अमेरिकी डलर दस्तुर तिरेर आवेदन फाराम भरेका हुन् । उनीहरूले तिरेको उक्त पैसा एचआरडी कोरियाको खातामा जान्छ । त्यो पैसाले एचआरडी कोरियाले परीक्षा सञ्चालन गर्न खर्चिँदै आएको छ ।

उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएकाहरूबाट ईपीएस शाखाले ५३ करोडभन्दा बढी रकम सङ्कलन गरेको छ । प्रति अमेरिकी डलर बराबर १३३ रुपैयाँ हुँदा आवेदन दिएकाहरूबाट ५३ करोड ५५ लाख ५५ हजार रुपैयाँ सङ्कलन भएको हो । यसमा २८ हजारभन्दा बढी यसअघि सीप विल्डिङका लागि आवेदन दिएर अनुउत्तीर्ण भएकाहरूले फाराम भर्न बाँकी छ ।

उनीहरूलाई समेत आवेदन फाराम भर्न दिएको खण्डमा आवेदन दिनेहरूको सङ्ख्या १ लाख ७२ हजारको हाराहारीमा हुन्छ । उक्त हिसाब गर्दा २८ डलरको दरले ६४ करोड भन्दा बढी रकम हुन आउँछ । ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीले तिरेको सबै २८ डलर नै कोरिया पठाइने गरेको बताए । कोरिया पठाएपछि कोरियाले ८ डलर ईपीएस कार्यालयलाई फिर्ता गर्ने गरेको उनको भनाई छ ।

कोरियाले ईपीएस मार्फत परीक्षा सञ्चालन तथा अन्य व्यवस्थापनको लागि भन्दै २८ डलर शुल्क लिँदै आएको हो ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ११ : ५६ बजे