Logo

Breaking News 1

कोशीको लगातार तेस्रो जित, मधेश प्रदेशको लगातार तेस्रो हार



काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ६० रनले हराएको छ । जारी प्रतियोगितामा कोशी प्रदेशले लगातार तेस्रो जित हासिल गरेको हो भने मधेश प्रदेशले लगातार तेस्रो हार भोगेको हो ।

टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको कोशी प्रदेशले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय २९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मधेश प्रदेशले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर ६९ रनमात्र बनाउन सक्यो ।

मधेश प्रदेशका लागि माथिल्ला चार ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी साना प्रविनले अविजित २७ रन बनाइन् ।

उनले ४१ बलको सामना गरी तीन चौका पनि हिर्काइन् । यसदेखि वाहेक आठौँ नम्बरकी ब्याट्र आरती महतोले मात्र मधेश प्रदेशका लागि दोहोरो अंकमा रन बटुल्न सकिन् ।

उनले २० बलमा चार चौकाको मद्दतले १८ रन बनाइन् । मधेश प्रदेशका चार ब्याट्रले त खातासम्म खोल्न सकेनन् । मधेश प्रदेशले अतिरिक्त रुपमा ६ रन पाएको थियो । कोशी प्रदेशका बलर सबनम राई र एलिसा खडियाले दुई–दुई विकेट लिए ।

संगीता राई र रुविना क्षेत्रीले पनि एक–एक विकेट हात पारे । उक्त खेलमा रुविना क्षेत्री प्लेयर अफ दी म्याच घोषित भइन् । त्यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको कोशी प्रदेशका लागि ओपनर रुविना क्षेत्रीले ५७ रनको योगदान गरिन् ।

कप्तानको भूमिकामा समेत रहेकी उनले ६४ बलको सामना गरी नौ चौका पनि हिर्काइन् । तेस्रो नम्बरकी ब्याटर अप्सरी बेगमले पनि ३९ रन बनाइन् । उनले ४१ बलमा सात चौका प्रहार गरिन् ।

यसैगरी सबनम राईले टोलीको खातामा अविजित १६ रन थपिन् । आक्रामक रुपमा प्रस्तुत भएकी उनले केवल आठ बलमा दुई चौका हिर्काइन् । लकिता राजवंशीले ६ र नमिता श्रेष्ठले अविजित दुई रन बनाइन् ।

कोशीले अतिरिक्त रुपमा पनि नौ रन पायो । ओपनर काजल श्रेष्ठ भने खाता खोल्नुअघि नै पेभेलियन फर्किएकी थिइन् । मधेश प्रदेशकी बलर मीना महतोले दुई विकेट लिइन् । पूजा महतो र सरस्वती कुमारीले पनि एक–एक विकेट हात पारे ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १२ : ३८ बजे