Logo

Breaking News 1

‘समाजको प्रगतिको बाधकलाई अभियन्ता भन्ने चलन छ’ : उपाध्यक्ष पाण्डे 



काठमाडौं । नेकपा एकीकृत समाजवादी नेकपा एसका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले, समाजका प्रगतीमा बाधक बन्नेहरुलाई अभियन्ता चलन रहेको भन्दै व्यङ्ग्य गरेका छन् । 

शनिबार काठमाडौंमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै पाण्डेले सरकारले कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन गरेको निर्णयविरुद्ध लाग्नेहरु समाजको प्रगतिको बाधक भएको टिप्पणी गरे । 

नेपालको स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको खाँचो भएको बताए । उनले स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादन र सुधारको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतलाई अनसन बस्नेसँग नडराई काम गर्न आग्रह गरे । तर, उनले स्वास्थ्य क्षेत्र सुधारको लागि पटक–पटक अनशन बस्दै आएका डा.केसीलाई भने प्रगतिको बाधकको रुपमा कडा टिप्पणी गरे । 

पाण्डेले भने, ‘सम्माननीय प्रधानमन्त्रीले संसदमा भन्नुभयो सुदूरपश्चिममा स्वास्थ्य विज्ञान सम्बन्धी विश्वविद्यालय भनेर हामीले प्रश्न गरेको बेलामा उत्तर दिनुभएको छ । त्यो सरकारको, राष्ट्रको निणर्य हो,त्यसका विरुद्ध एकजना डाक्टर त्यहाँ अनसन बस्न पुगे । डाक्टरलाई लखेटेरे भन्ने पनि सुने । यस्ता मान्छेहरु जसले समाजको प्रगतिको बाधक छन् उनीहरुलाई अभियन्ता भनेर लेख्ने प्रशंसा गर्ने चलन छ ।’ 
केही समय अघि (मंसिर ३० गते) डा.केसी सरकारले आफूसँग गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउने भनेर गरेको सम्झौता कार्यान्वयन गर्नुपर्नेलगायतका माग राखी अनसन बसेका हुन । 

पाण्डेले अनसन बस्नलाई उचाल्ने काम राम्रो नभएको भन्दै थपे, ‘यही डाक्टरहरुको रोबाट गुरुजी तपाई कस्सिनुहोस भनि उचाल्ने चलन पनि छ । मलाई लाग्छ यसले राष्ट्रलाई प्रगति गर्दैन । र स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन गर्ने कुरामा डा. पुकारलाई म यही भन्न चाहान्छु,तपाईले यो अस्पतालमा ( शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र) राम्रो उपचारसेवा उपलब्ध गराइदिएर मात्रै पुग्दैन । हामीले जहिलेसम्म जनशक्ति तयार गर्न सक्दैनौ त्यतिन्जेलसम्म हामी यो काममा अधुरै रहन्छौं । यतातिर ध्यान पुगोस् ।’

उनले सँगै रहेका प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई इङ्गित गर्दै भने– ‘प्रधानमन्त्रीज्युमा देशमा केही गर्नुपर्छ भन्ने हुटहुटी छ । उहाँले तेस्रो पटक म प्रधानमन्त्री बनेको छु र यही बेलामा केही गरेर देखाउँछु भन्नुभएको छ । यस्तै, स्वास्थ्यमन्त्री ज्यु त्यस्तै आँटिलो हुनुहुन्छ । यो अनसन गर्छु भन्नेहरुसँग र राजीनामा माग्नेसँग नडराइकन आफ्नो स्टेप चाल्नुभएको छ । अगाडि बढ्नुहोस् तपाईँलाई हामी साथ दिन्छौं ।’ 

पाण्डेले यो वर्ष स्वास्थ्य क्षेत्रबाट १ खर्ब ४३ अर्ब बाहिरिन लागेको डाटा आफूलाई प्राप्त भएको तथा बेलायतमा नर्स पठाउन सरकारले सम्झौता गरेको उल्लेख गर्दै जनशक्तिको विदेश पलायनलाई रोक्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  २ : १० बजे