Logo

Breaking News 1

युवा स्ट्यान्ड्स विथ नेचर’ राष्ट्रिय सम्मेलन हुने



काठमाडौं । भूमि हाम्रो भविष्य ‘ल्याण्ड आवर फ्युचर’ नामक संस्थाले २३ र २४ डिसेम्बरमा ‘युवा स्ट्यान्ड्स विथ नेचर’ भन्ने नाराका साथ पहिलो राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै यसबारे जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले युवाहरुलाई विश्वको समस्याको बारेमा जानकार गराएर नेपालमा कसरी आफ्नो भूमिका गर्ने भन्नेबारे जानकारी दिन सम्मेलन आयोजना गरेको बताए ।

पूर्व वातावरणमन्त्री सुनिलकुमार मानन्धरले वातावरण संरक्षण र जलवायु परिवर्तनका मुद्दाहरुमा युवाहरुको के भूमिका रहन्छ भन्ने बारे जानकारी गराउनु कार्यक्रमको मुख्य उद्देश्य भएको बताए ।

उनले कार्यक्रम उद्घाटनमा प्रमुख अतिथि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल, विशेष अतिथि मिस नेपाल सुरक्षा प्रधान र अतिथिको रुपमा युवा वैज्ञानिक शिशिर जिसी रहने बताए ।

यसका साथै नेपालमा वातावरण, विविधता, वन संरक्षण र खाद्य सुरक्षाको क्षेत्रमा अनुभवप्राप्त विनोद भट्ट, डा.अजय माथेमा, डा. घनश्याम गुरुङ्, डा.कुशल गुरुङ् र डा. योमुना घले मुख्य वक्ताका रुपमा सहभागिता रहने उनले बताए ।

जलवायु परिवर्तनको बारेमा दुबईमा हालै विश्व सम्मेलन सम्पन्न भएको उल्लेख गर्दै उनले त्यहाँ भएका कुरालाई कत्तिको सम्बोधन गर्न सकिन्छ र एक वर्षभित्रमा कुन रोडम्यापमा जाने तयारीमा हुनसक्छ भन्ने विषयमा मन्जित ढकाल, राजु पण्डित क्षेत्री, युवा वातावरणविद् अभिषेक श्रेष्ठ, सुरक्षा प्रधानको सहभागितामा समूहगत छलफल गरिने उनले जनाए ।

उक्त संस्थाले ल्याण्ड आवर फ्युचर, वातावरण संरक्षण, वन र जैविक विविधता संरक्षण, जलवायु न्याय, खाद्य सुरक्षा र दिगो विकास लक्ष्यहरूको क्षेत्रमा काम गर्ने युवा मञ्च रुपमा काम गर्दै आएको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ३ : ४२ बजे