Logo

Breaking News 1

कोशीमा नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउने तयारी



काठमाडौं । कोशी प्रदेशको प्रदेशसभा सचिवालयले नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउने तयारी थालेको छ । तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि चार महिनादेखि सभामुख पद रिक्त छ । गौतमले गत १६ साउनमा पदबाट राजीनामा दिएका थिए ।

उपसभामुख सिर्जना दनुवारले सभामुख चयनका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग छलफल सुरु गरिएको बताइन् । अब प्रदेशसभाको अर्को बैठक बुधबार बस्दैछ । उपसभामुख दनुवारले बुधबारको प्रदेशसभाको बैठकमा सभामुख चयनको प्रक्रिया अघि बढाउने तयारीमा रहेको र त्यसैकालागि दलहरूसँग छलफल गरिरहेको बताइन् ।

कोशीमा राप्रपाले सभामुखमा दाबी गर्ने जनाएको छ । त्यसो त सत्ता गठबन्धनले पहिले नै राप्रपालाई सभामुख दिने सहमति गरिसकेको छ ।

९३ सदस्यीय प्रदेशसभामा एमालेको उपसभामुख सहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकिकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीका एक जना सांसद छन् ।

यसअघि मुख्यमन्त्री केदार कार्कीलाई राप्रपा बाहेकका सबै दलले विश्वासको मत दिएका थिए । तर माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी सरकारमा सहभागी भएपछि एमाले बाहिरिएको छ, तर समर्थन भने फिर्ता लिएको छैन । मुख्यमन्त्री कार्कीले राप्रपालाई समेत साथमा लिएर प्रदेशसभामा बलियो बहुमत कायम राख्ने रणनीतिमा देखिएका छन् ।

सभामुख र उपसभामुख फरक–फरक राजनीतिक दलबाट हुनुपर्ने प्रावधान छ । हाल उपसभामुख रहेकी दनुवार नेकपा एमाले पृष्ठभूमिबाट आएकी हुन् । सरकारबाट बाहिरिएको एमालेले सभामुखमा दाबी गरे उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ । यसअघि सभामुख रहेका गौतम सर्वसम्मत सभामुख चयन भएका थिए ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ११ : १७ बजे