काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब देशको राजनीति यसैगरी अहिलेकै जस्तो अलपत्र अवस्थामा चल्न नहुने बताएका छन् । मंसिर १४ गते बैतडीको झुलाघाटबाट एमालेले सुरु गरेको सङ्कल्प यात्रा पाँचथरको चिवाभञ्जयाङमा समापन गर्दै अध्यक्ष ओलीले अब देशको राजनीतिले सही बाटो पक्रन जरुरी रहेको बताए ।
आउँदो पिँढीको जिन्दगी धरापतर्फ धकेलिँदै गएको भन्दै ओलीले यस्तो स्थितिबाट देशलाई जोगाउन सङ्कल्प यात्राले असाधारण योगदान गरेको बताए ।
सङ्कल्प यात्रालाई महान् यात्राको संज्ञा दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले जोखिम मोल्ने र त्यसलाई पराजित गर्ने यात्रा भएको टिप्पणी गरे ।
उनले यो यात्राले विभिन्न किसिमका अवाञ्छित गतिविधिहरूलाई जवाफ दिएको र हतोत्साहित गरेर देशलाई शिरमा राखेर अघि बढ्न आम जनतामा मनोबल बढेको बताए ।
उनले देश कसरी बढ्ने भन्ने विचार र विषयहरू सङ्कल्प यात्राका क्रममा पाइएको भन्दै उत्साहका साथ लाखौँ जनता सहभागी भएकोमा ओलीले धन्यवाद व्यक्त गरे ।
प्रतिक्रिया