Logo

Breaking News 1

नेपाली हस्तकला सामग्रीको प्रतिलिपि अधिकार बेलैमा सुरक्षित गर्नुपर्छः राष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली हस्तकलाबाट बनेका सामग्री सीपमा आधारित मौलिक उत्पादन भएकोले यसको प्रतिलिपि अधिकार समयमै सुरक्षित गर्नुपर्ने बताएका छन् ।

बिहीबार हस्तकला दिवसको अवसरमा आयोजित बीसौ हस्तकला व्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिताको उद्घाटन गरेका उनले नेपाली हस्तकलाका सामग्री कतिपय जातजातिको पुर्ख्यौली पेशाको रुपमा रहेको र मौलिक सीपमा आधारित उत्पादन भएकाले बेलैमा प्रतिलिपि अधिकार पनि सुरक्षित गर्नुपर्नेमा जोड दिए ।

उनले हस्तकलालाई समयसापेक्ष बनाएर नयाँ पुस्तामा हस्तान्तरण गर्दै विकास गर्न आवश्यक भएको पनि उल्लेख गरे । हस्तकलाले नेपाली वस्तुको पहिचानलाई विश्वभर फैलाउन योगदान गर्ने उनको भनाई छ ।

विश्वका ८५ देशमा नेपाली हस्तकलाबाट उत्पादित सामग्री निर्यात भैरहेको अवस्थामा नेपालमा विदेशी मुद्रा आजर्न गर्ने प्रमुख क्षेत्र हस्तकला व्यवसाय भएको उनको धारणा छ ।

उनले यो क्षेत्रको प्रवर्द्धन गर्न हस्तकला उद्योगमैत्री आवश्यक नीति, ऐन, कानून निर्माण गरी उत्पादिन वस्तुहरुको देशभित्रै पनि बजार विस्तार गर्ने वातावरण निर्माण गर्नमा सरकारका सबै निकायले सहयोग गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  २ : २५ बजे