काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवासङ्घ नेपालले युवा सङ्घलाई जोडेर सामाजिक सञ्जालमा फैलाइएका भिडियो तथा अडियो सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष क्षितिज थेबेले बुधवार विज्ञप्ति जारी गर्दै जनसरोकार– जनजीविकाका मुद्दाहरूमा सधैँ अग्रपङ्क्तिमा रहेर युवाहरूको आवाज बुलन्द पार्ने नेपाली युवाहरूको सर्वाधिक लोकप्रिय तथा नेतृत्वदायी सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाललाई बदनाम बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा विभिन्न भिडियोहरू फैलाइएको बताएका छन् ।
गए राति दुर्गा प्रसाईँ समर्थक महिलाहरूलाई भक्तपुरको एक पार्टी प्यालेसमा सुतिरहेका बेला युवासंघका कार्यकर्ता बताउने एक समूहले लखेटेको भिडियो सार्वजनिक भएको थियो ।
साथै युवा सङ्घले मङ्सिर ७ गते आयोजना गरिएको युवा– विद्यार्थीको कार्यक्रमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुस पैठी समूहले सङ्गठनको नाम बदनाम गराइरहेको आशङ्का गरेको जनाएको छ । ‘घुसपैठबारे हामीले आन्तरिक रुपमा छानबिन गरिरहेको ब्यहोरा जानकारी गराउँदछौँ । यस्ता खालका कुनै पनि गतिविधि गर्ने योजना आयोजकको नरहेको र हाम्रा तर्फबाट यस्ता गतिविधि नगरिएको जानकारी गराइन्छ’, युवा सङ्घले भनेको छ ।
प्रतिक्रिया