Logo

Breaking News 1

२०८४ को चुनावमा गठबन्धन बनाउन नमिल्ने कानुनी व्यवस्था गर्न आवश्यक छ : रवि लामिछाने


१५ कार्तिक २०८०, बुधबार  

69
Shares

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले आगामी निर्वाचनका बेला राजनीतिक दलहरूबिच गठबन्धन बनाउन नमिल्ने कानुनी व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलका क्रममा लामिछानेले सो सम्बन्धी कानुनी प्रावधान राख्न आवश्यक रहेको बताए ।

उनले निर्वाचन आयोगले बनाउन लागेको एकीकृत निर्वाचन कानुनको मस्यौदामा सर्वोच्च अदालतले जारी गरेको आदेश अनुसारको नो भोट (राइट टु रिजेक्ट) को व्यवस्था राख्न समेत माग गरे । २०३५ सालको जनमत सङ्ग्रहको बेला पेरिसमा रहेका नेपालीले समेत मतदानको अवसर पाएको बताउँदै उनले अहिलेको समयमा यसको प्रबन्ध गर्न नसकिने प्रश्न नरहेको बताए ।

यस्तै विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्ने कानुनी व्यवस्था गर्नुपर्नेमा पनि लामिछानेले जोड दिएका छन् । यता प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संसद्ले त्यस किसिमको कानुन बनाएमा कार्यान्वयन गर्न आयोग तयार रहेको जवाफ दिएका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ४ : २८ बजे