Logo

मुख्य समाचार

बेसी झर्न थाले भेडीगोठ



ढोरपाटन । गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेसी झर्न थालेका छन् । लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन् । लेकमा जाडो सुरु हुन थालेको र चाडबाड नजिकिएसँगै भेडीगोड बेसी तिर सारिएको हो । जेठ पहिलो सातादेखिनै लेक उक्लिएका भेडीगोठ असोज पहिलो सातादेखि बेसी झर्न सुरु गरेका हुन् ।

बर्खामा बेसीमा घाँस अभाव हुने र लेकमा प्रशस्त पाइने हुँदा भेडी गोठाले हरेक वर्ष लेक–बेसी गर्ने गर्छन् । पश्चिम बागलुङको माथिल्लो क्षेत्रका अधिकांश किसानका लागि लेकबेसी गर्नु परम्परानै हो । एकै परिवारले दुई सयदेखि एक हजार वटासम्म भेडा पाल्दै आएका छन् । गोठालाहरु हप्तौँको यात्रा गरी बुकी चढ्ने र बेसी झर्ने गर्छन् । बेसीमा भन्दा बुकीमा भेडाबाख्राका लागि चरन क्षेत्र र पोषिलो घाँस पर्याप्त पाइन्छ । यतिबेला तिलाचन, रिग, पातीहाल्ने, सोलेडाँडा, भर्कोबाङलगायतका क्षेत्रमा भेडाका बथान भेटिन्छन् ।

यो समय भेडाबाख्रा बिक्री गर्ने सिजन भएको हुँदा गोठालाहरु बेसी झरेर बजार तिर लाग्ने गर्छन् । बेसी झरेका गोठालेहरु अब केही दिनमै मुख्य–मुख्य सहरसम्म हप्तौँ दिन हिँडेर भेडाबाख्रा बेच्न जान्छन् । यहाँबाट भेडा बिक्रीका लागि केही बुर्तिबाङ, खर्बाङ, गुल्मीको वामी, रिडी, पाल्पा हुँदै बुटवलसम्म र कोही गलकोट, बागलुङ, पर्वतको कुश्मा हुँदै पोखरासम्म जाने तयारीमा छन् ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ८ : १८ बजे