Logo

Breaking News 1

सार्वजनिक सञ्चारमाध्यमलाई जनताप्रति जवाफदेही र उत्तरदायी बनाउन विधेयक : सञ्चारमन्त्री



काठमाडौं। सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल सुरु भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा उक्त विधेयकमाथि दफावार छलफल सुरु गरिएको हो ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक सञ्चारमाध्यमलाई जनताप्रति जवाफदेही र उत्तरदायी बनाउन यो विधेयक अघि बढाइएको बताइन् ।

उनले विधेयकप्रति आएका संशोधनमाथि पनि छलफल गरेर जनउत्तरदायी बनाइने प्रतिबद्धता जनाइन् । ०७७ सालमा विधेयक प्रस्तुत गरिएकाले यसबीचमा भएको परिवर्तनलाई समेत ध्यानमा राखेर विधेयक अघि बढाइने उनको भनाइ छ ।

उनले सरकारी सञ्चारमाध्यमलाई राष्ट्रिय सार्वजनिक सेवा प्रसारणका रूपमा रूपान्तरण गरिने बताइन् ।

बैठकमा समिति सदस्यहरूले सार्वजनिक सेवा प्रसारण संस्थालाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाइनुपर्नेमा जोड दिए । सूचनाको पहुँच विस्तार गरी मुलुकको साझा संस्थाका रूपमा अघि बढाइनुपर्ने उनीहरूले बताए ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ५ : ०८ बजे