Logo

Breaking News 1

चिकित्सक कुटपिटको विरोधमा माइतीघरमा विरोध प्रदर्शन



काठमाडौं। पोखराको मणिपाल अस्पतालका डाक्टरमाथि कुटपिट गरेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ।

पाटन अस्पताल, वीर अस्पताल लगायत अस्पतालका चिकित्सकहरूले काठमाडौंको माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका हुन्।सोमबार पोखराको मणिपाल अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरूले चिकित्सकमाथि कुटपिट गरेका थिए। उनीहरूले अस्पतालमा तोडफोड गरेका थिए।

आफूहरूमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षा माग्दै चिकित्सकहरू सडकमा निस्किएका हन् । डाक्टरहरूले कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने आवाज उठाएका छन् ।

आइतबार राति पनि लमजुङ जिल्ला अस्पतालमा बेसीशहर नगरपालिकाका एक जना वडाध्यक्ष ऋषिराम बस्नेतले डाक्टरमाथि कुटपिट गरेका थिए। कुटपिट गरेको आरोपमा प्रहरीले बस्नेतलाई पक्राउ गरेको छ।

यसअघि गत भदौ २७ गते हेटौंडाको सञ्चो अस्पतालमा बिरामीका आफन्तले दुई जना डाक्टरमाथि कुटपिट गरेका थिए। त्यतिबेला चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा सबै अवरूद्ध गरी आन्दोलन गरेका थिए। सरकारसँग ६ बुँदे सम्झौता भएपछि चिकित्सकहरू काममा फर्किएका थिए।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  १ : ३२ बजे