Logo

Breaking News 1

चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री



भक्तपुर। भक्तपुरको चाँंगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले चाँंगुनारायण नगरपालिकाको शिक्षाको विकासका लागि जेल जानु परेमा सबैभन्दा पहिला आफू जेल जान तयार रहेको बताएका छन् ।

नेपाल इन्जिनियरिड कलेज (नेक) चाँंगुनारायण नगरपालिका ४ भक्तपुरको सोमबार भएको २९ औं वार्षिक उत्सव समारोह उदघाटनमा उनले असल काम गरेर जेल जानु परे आफू जान तयार रहेको बताए ।

नेपाल इन्जिनियरिड कलेज (नेक) चाँंगुनारायण भक्तपुर निजी हो कि गैरनाफामुखी रुपमा सञ्चालित कलेज भनेर लामो समयदेखि विवाद छ । यही विवादका वीचमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चाँंगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको अध्यक्षतामा सञ्चालक समिति गठन गरिदिएको थियो । त्यस अनुसार मेयर खत्रीले कार्यभार पनि सम्हालिसकेका छन् ।

कार्यभार सम्हालेसँंगै उनले कुनै हालतमा निजी बनाउन नदिने अठोट गर्दै काम गर्दै आएका छन् । यो क्रममा नाफा नलिने उद्देश्यका साथ सञ्चालित कलेजलाई निजी बनाउन खोजे जेल गएर पनि कलेजलाई सामुदायिक नै बनाएर छोडने आशय उनको थियो ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री कृष्णलाल भँंडेलले पनि सामुदायिक रुपमा उहिलेदेखि चल्दै आएको कलेजलाई कसैले पनि निजी बनाउने काम गरे त्यो आफूहरुको लागि सह्य नहुने बताए । उनले यसको लागि जस्तोसुकै कदम अगाडि वढाउन पनि आफूहरु पछि नपर्ने विश्वस्त तुल्याए ।

बागमती प्रदेशका सदस्य सभाषद् सुरेश श्रेष्ठले २९ वर्षको उमेरमा पुगेको कलेज लक्का जवान हुनुपर्नेमा व्यवस्थापनको अनेक विवादका कारण विरामी परेजस्तै भएको भन्दै दुःख व्यक्त गरे ।

कलेजलाई बागमतीकै प्राविधिक शिक्षा अध्यापन हुने पहिलो विश्वविद्यालयका लागि बागमति प्रदेशका मुख्यमन्त्रीसँंग आफूले छलफल गरेको स्मरण उनले गरे । कार्यक्रममा कलेजका संस्थापक सञ्चालक प्रतिनिधि ई शशिल भटराई, कलेजका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारी, कलेज सञ्चालक समितिका सदस्यहरु सोम प्रधान, दिनेश खनाल, नरेश खड्का, नेपाल इन्जिनियरिड काउन्सिलका अध्यक्ष प्राडा पदमबहादुर शाही, नेपाल सरकारका सचिव मणिराम गेलाललगायतले तत्कालिन चाँंगुनारायण गाविसबाट एक सय ७८ रोपनी जग्गा भोगचलनको अधिकार पाएर कलेज सञ्चालन भएको स्मरण गरे ।

कार्यक्रममा विभिन्न राजनीतिक दलहरुकोतर्फबाट नेपाली कांग्रेसबाट शिवहरि केसी, नेकपा एसबाट अन्जना पोखरेल, राप्रपाबाट रमेश अधिकारीलगायतले कलेजको हितको विविध पक्षमा चर्चा गरे ।

साथै कार्यक्रममा कलेजका विभिन्न संगठनका प्रमुखहरु प्रजातन्त्रबादी प्राध्यापक संघबाट दीपक धामी, प्रगतिशिल प्राध्यापक संघबाट दीगम्वर खोटेजा, स्वतन्त्र कर्मचारी संघबाट मनोहर खनाल, कर्मचारी संघबाट श्रीराम खनाल, एसोसिएट प्रोफेसर यमकृष्ण पौडेललगायतले सामूहिक प्रयासबाट मात्रै कलेजको उन्नति हुनसक्ने बताए ।

कार्यक्रममा कलेजमा २० वर्ष सेवा अवधि पूरा गरेका एकजना पूर्व उपप्राचार्य दीपक धामी र चार जना कर्मचारी गरी कुल पाँंचजनालाई नगद, प्रमाणपत्र, दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

यसअघि कलेज सञ्चालक समितिका संस्थापक अध्यक्ष स्वर्गीय दीपक भटराईको शालिकमा माल्यार्पण गरिएको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ५ : ०६ बजे